Skip

Hamro Sanchar

हिसान ९औं राष्ट्रिय महाधिवेशन : नेतृत्व चयन सहमति नजिक, लोकले शर्मालाई स्वीकार्ने

सुदिप बर्देवा प्रकाशित : २०८२ पुष, १२ गते


काठमाडौं । उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान) को ९औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सहमतितर्फ उन्मुख भएको छ। संगठनलाई एकताबद्ध बनाएर अघि बढाउने उद्देश्यसहित सहमतिका आधारमा नेतृत्व चयन गर्ने प्रयास अन्तिम चरणमा पुगेको छ।

महाधिवेशनका क्रममा अध्यक्ष पदका आकांक्षीबीच सहमति जुटाउने प्रयासस्वरूप हालका महासचिव लोक बहादुर भण्डारीले बरिष्ठ उपाध्यक्ष युवराज शर्मालाई नेतृत्वका लागि स्वीकार गर्ने सहमति जनाएका छन्। दुवै नेताबीच निरन्तर संवाद र छलफलपछि सहमतिको वातावरण बनेको हो।

यद्यपी शर्मालाई अध्यक्ष स्वीकार्न तयार भएका भण्डारी बरिष्ठ उपाध्यक्ष मध्ये पहिलो नम्बरमा र महासचिव आफुनिकट हुनुपर्ने अडान लिएका छन्। यसबारे हिसान केन्द्रिय कार्यसमिति छलफलमा जुटेको छ। उनको अडानमा सहमति जुट्न नसके महासचिवका साझा उम्मेदवारलाई अगाडी सारिने छ। यसका निम्ति साझा उम्मेदवार मानिएका भवानीप्रसाद पौडेल महासचिव बन्ने प्रवल सम्भावना रहेको छ।

हिसानका नेताहरूका अनुसार संघभित्र देखिएका मतभेद अन्त्य गर्दै निजी शैक्षिक संस्थाहरूको साझा हितमा काम गर्ने नेतृत्व अहिलेको आवश्यकता हो। “संगठनलाई बलियो बनाउँदै शैक्षिक क्षेत्रका चुनौतीहरू समाधान गर्न सहमतिमै नेतृत्व चयन उपयुक्त हुन्छ,” महाधिवेशन प्रतिनिधि तोयानारायण पौडेलले बताए।

निजी उच्च शिक्षालय तथा माध्यमिक विद्यालयहरू नीतिगत, आर्थिक तथा प्रशासनिक समस्याबाट गुज्रिरहेको अवस्थामा स्थिर, अनुभवी र सर्वस्वीकार्य नेतृत्व अपरिहार्य रहेको महाधिवेशन प्रतिनिधिहरूको भनाइ छ। नयाँ नेतृत्वले शैक्षिक गुणस्तर सुधार, नीतिगत समन्वय र संस्थागत हकहितका पक्षमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।

महाधिवेशनबाट नयाँ कार्यसमिति औपचारिक रूपमा घोषणा भएपछि आगामी कार्यकालका नीति तथा कार्यक्रम सार्वजनिक गरिने संघले जनाएको छ। सहमतिमा नेतृत्व चयन भए संगठनभित्रको एकता मजबुत हुने र हिसान अझ प्रभावकारी रूपमा अघि बढ्ने विश्वास लिइएको छ।

यो पनि पढ्नुहोस्- हिसान ९औ राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु, अध्यक्षका दुई आकांक्षी बीच रोचक भीडन्त हुदै…


प्रतिकृया दिनुहोस्