
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-५, थलीमा रहेको कान्तिपुर क्याम्पस व्यवस्थापन समितिको अध्यक्षमा पुनः मनमोहन भट्टराई सर्वसम्मत चयन भएका छन् ।
शनिवार भएको क्याम्पस सभाले उनलाई अर्को कार्यकालका लागि पनि सर्वसम्मत चयन गरेको हो । यस्तै उपाध्यक्षमा संविधानसभा सदस्य दीपक कुँईकेल सहित नवराज सिंखडा, शिवप्रसाद घिमिरे लगायत अघिल्लो कार्यसमितिका अधिकांश सदस्यहरु सर्वसम्मत भएका छन् ।
अध्यक्षमा चयनपछि संवोधन गर्दै भट्टराईले सबैको साथ सहयोगमा क्याम्पसका लागि आफूले गर्नसक्ने सबै योगदान दिने उल्लेख गरे । साथै यो वर्षदेखि उनि र उनकी धर्मपत्नि तारा भट्टराईको संयुक्त प्रयासमा तारा–मनमोहन छात्रबृत्ति कोष स्थापना गरी क्याम्पसका सर्वोत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कारको व्यवस्था गरेका छन् ।
यो वर्ष ४ बर्षे स्नातक तहमा क्याम्पस टप गर्ने छात्रतर्फ सजित तामाङ र छात्रातर्फ सम्झना बुढालाई स्नातक तहमा अध्ययन गर्दा लागेको खर्च बराबरको छात्रबृति प्रदान गरे । उनीहरुलाई कागेश्वरी मनोहरा नगरप्रमुख उपेन्द्र कार्की, क्याम्पस प्रमुख शैलेन्द्र कुँईकेल, संविधान सभा सदस्य कुँइकेल, सदस्य नवराज सिंखडा, अध्यक्ष मनमोहन भट्टराईले संयुक्त रुपमा बिद्यार्थीहरुलाई सम्मान पत्र सहित पुरस्कार वितरण गरे ।
सभामा क्याम्पस प्रमुख कुँईकेलले वार्षिक प्रतिवेदन, वार्षिक लेखा प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पसको हालको अवस्था र दीर्घकालीन लक्ष्यहरुबारे जानकारी गराएका थिए । उनले क्याम्पसमा आगामी शैक्षिक सत्रदेखि जनप्रशासन तथा व्यवस्थापन संकायमा स्नातकोत्तर तहको अध्यापनका लागि त्रिभूवन विश्वविद्यालयसँग पहल गरिरहेको जानकारी गराए ।
क्याम्पस व्यवस्थापन समितिका पदेन सदस्य समेत रहेका नगरप्रमुख कार्कीले क्याम्पसलाई आधुनिकीकरण गरेर लैजान आवश्यक रहेको बताउदै त्यसका लागि नगरपालिका सधै साथमा रहेको बताए । सभामा संवोधन गर्दै नगरप्रमुख कार्कीले हरेक वर्ष नगरपालिकाले १० लाख अनुदान दिँदै आएको र भौतिक पूर्वाधार निर्माणका लागि आवश्यक सहयोग गरिरहेको जानकारी दिए ।
नगरप्रमुख कार्कीकाअनुसार यो वर्ष कलेजको कम्पाण्ड बनाउन नगरपालिकाले डेढ करोड छुट्टाएको छ ।
उनले क्याम्पसका लागि अघिल्लो सरकारले बजेटमा व्यवस्था गरेको ४ करोड रुपैयाँ कार्यान्वन गराउन अहिलेको नयाँ सरकारसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । ५० करोड हाराहारी लागतको क्याम्पसको भौतिक पूर्वाधारको अन्तिम डिपिआर तयार भएपछि आवश्यक बजेटका लागि आफूले भारतीय दुतावाससँग पनि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
संविधान सभा सदस्य एवं क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष दीपक कुँईकेलले कान्तिपुर क्याम्पसलाई पूर्वी काठमाडौंको मन्टेश्वरीदेखि मास्टर डिग्रीसम्मको एजुकेशन हवको रुपमा अगाडि लैजाने उदेश्यका साथ अघि बढिरहेको बताए ।
उनले आफू समाजसेवाको रुपमा राजनीतिमा लागेको बताउदै २०४८ सालदेखि कान्तिपुर क्याम्पस अघि बढाउँन मनमोहन भट्टराई, आफू लगायतले एक पैसा नलिई काम गर्दै आएको बताए । साथै क्याम्पस प्रमुख शैलेन्द्र कुँइकेलले समेत हालसम्म तलब सुविधा नलिई क्याम्पसको सेवा गर्दै आइरहेको बताउदै २०४८ सालदेखि हालसम्म क्याम्पसको हरेक वर्षको रेर्कड पारदर्शी रहेको उल्लेख गरे ।
यस्तै कान्तिपुर एकेडेमीमा प्रमुख कविर शर्माले आइटी शिक्षालाई जोड दिने हिसावले कक्षा ९ देखि १२ सम्म कान्तिपुर एकेडेमीको रुपमा अगाडि बढाइरहेको उल्लेख गरे । उनले समाज विकासको नेतृत्व उत्पादनका लागि सामुदायीक विद्यालय तथा सामुदायीक क्याम्पसको भूमिका उल्लेखनीय हुनेमा जोड दिए ।

















