Skip

Hamro Sanchar

कांग्रेस प्रबक्ता महतको प्रस्ताव : अब विदेशी नागरिकलाई पनि सरकारी नियुक्ति दिऊँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, २९ गते


काठमाडौँ । पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले अब विदेशी नागरिकलाई पनि सरकारी नियुक्ति दिनुपर्ने बताएका छन् ।

उनले विदेशी नागरिक वा पिआर लिएर विदेशमा बसेको नेपाली नेपालमै आएर नेतृत्व सम्हाल्न खोज्छ भने त्यस्तालाई सरकारले नियुक्ति गर्नुपर्ने बताएका हुन् ।

आज संसद्को अर्थ समितिमा वैकल्पिक विकास वित्त परिचालनसम्बन्धीमा बनेको विधेयकमाथिको छलफलमा भाग लिँदै उनले विदेशमा पनि विदेशीहरूले नै कम्पनीहरूको नेतृत्व गर्ने गरेको र त्यसबाट ती कम्पनीहरू सबल हुने गरेको बताए । नेपालमा अनेक बहानामा विदेशीहरूसहित त्यहाँ रहेका नेपालीहरूलाई बन्देज लगाउन खोजिनु उचित नभएको उनको भनाइ छ ।

पूर्वअर्थमन्त्री महतले भने, ‘नीतिगत निर्णय भएपछि सीईओले कार्यान्वयनमा लैजाने हो । अमेरिका, युरोपमा ट्रिलियन डलरका कम्पनीहरू बाहिरको मान्छेले चलाइरहेका हुन्छन्, इन्डियनहरुले चलाइरहेको छ । योग्य हेर्ने हो, जिम्मेवारीअनुसार काम गरे, नगरेको बोर्डले हेर्ने हो नि । सीईओले दायाँबायाँ गर्ने बित्तिकै आउट गर्ने अधिकार बोर्डलाई भइहाल्छ । त्यसैले हामीले अहिले नयाँ कन्सेप्टमा वैकल्पिक वित्त कोषलाई अघि बढाउन खोज्दैछौँ । हामी नयाँ प्रबन्ध गर्न खोजिरहेका छौँ ।’

महतले वैकल्पिक वित्त कोष व्यवस्थापन गर्नका लागि नियुक्त हुने सिइओ, देश विदेश बुझेको हुनुपर्ने बताए । उनकाअनुसार वित्त कोषको सीईओको सवालमा ग्रिन कार्ड लिएको, नलिएको, विदेशी नागरिक हो वा होइन, त्यो पनि हेर्नुहुँदैन । नेपाली पनि हुनसक्छ, विदेशमा बसेको ग्रिन कार्ड होल्डर पनि हुनसक्छ, त्यस्ता सबैलाई स्विकार्न उनले प्रस्ताव गरे ।


प्रतिकृया दिनुहोस्