
पोखरा । पोखराको इमेज सहकारी ठगी अभियोगमा बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली कारागार चलान भएका छन्।
आज जिल्ला अदालत कास्कीका न्याायधीश हिमलाल बेलबासेको इजलासले नेपालीलाई पूर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो।
जिल्ला कारागार बागलुङमा थुनामा रहेका नेपालीलाई आइतबार जिल्ला अदालत पोखरा झिकाएर बयान लिएको थियो।
बयान सकिएपछि सोमबार इजलासले पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको जिल्ला अदालतका सूचना अधिकारी दामोदर आचार्यले जानकारी दिए।
नेपालीले बागलुङ र पोखरामा गरी २ वटा इमेज बचत तथा ऋण सहकारी संस्था खोलेका थिए। दुवै सहकारीमा गरी नेपाली नेतृत्वमा २ अर्ब अपचलन भएको छानबिन प्रतिवेदनमा उल्लेख छ।
पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष रहेका नेपालीले उक्त सहकारीका तत्कालीन अध्यक्ष जिबी राइसँग विवाद भएपछि छाडेर इमेज सहकारी खोलेका थिए। ढोरपाटन नगरपालिकाका मेयर भएपछि पनि नेपाली दुवै ठाउँमा खुलेको इमेज सहकारीका अध्यक्ष थिए।
सहकारीमा बचत राखेका सर्वसाधारणले आफ्नो बचत फिर्ता माग्न थालेपछि नेपाली १६ महिना फरार भएका थिए। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २०८१ असोज ११ गते भारतको दिल्लीबाट पक्राउ गरी नेपाल ल्याएको थियो।
दिल्लीबाट ल्याएर बागलुङ पठाइएका मेयर नेपाली जिल्ला अदालत बागलुङको आदेशले कारागारमा छन्। कास्की जिल्ला अदालतले नेपालीलाई बागलुङ कारागारमै थुनामा राख्ने गरी आदेश भएको सूचना अधिकारी आचार्यले बताए।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले इमेज सहकारी पोखराबाट नेपालीले ५७ करोड ३५ लाख ८४ हजार रुपैयाँ हिनामिना गरेको आरोप लगाएको छ।

















