
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले लोडसेडिङ हुन्छ भनेर भएको हल्ला निराधार भएको दाबी गरेका छन् ।
शाक्यले पदभार ग्रहण गपछि सञ्चारकर्मीसँग बोल्दै अब घरायसी ग्राहकहरूमा लोडसेडिङ नहुने उनले बताए ।
‘केही मानिसहरूले लोडसेडिङ हुन्छ भन्ने हल्ला चलाएका छन् । त्यो निराधार हो । अब घरायसी ग्राहककहाँ लोडसेडिङ हुँदैन,’ उनले भने, ‘उद्योगमा लोडसेडिङ छ, त्यो पनि हटाउँछु।’
आफू ०७७ सालमा केही समय कार्यकारी निर्देशक हुँदा अहिलेभन्दा पनि विश्वासिलो बिजुली दिइएको उनले बताए ।उद्योगमा त्यसबेला लोडसेडिङ नगरिएको उनको भनाइ थियो।
‘अबको चुनौती विश्वासिलो बिजुली हो, लोडसेडिङ ओइन । अब विद्युत्को गुणस्तर वृद्धि हुन्छ । दिनमा एकपटकभन्दा बढी ट्रिपिङ नहुने वातावरण बनाउँछ,’ उनले भने । डेडिकटेड र ट्रंकलाइन विवादको समाधान प्राविधिक रुपमा यसको निकाल्नुर्ने उनले बताए । ‘त्यो निस्कन्छ पनि । यो मेरो लागि अवसर हो,’ उनले भने ।
विद्युत् प्राधिकरणमा कोही व्यक्ति नहुँदैमा भारतले विद्युत् दिन छोड्ने भन्ने बेकारको हल्ला भएको उनले बताए ।
‘प्राधिकरण ०४१ सालदेखिको संस्था हो । जो व्यक्ति आए पनि फरक पर्दैन,’ उनले भने । उनले अबको एक दुई हप्ताभित्रै नतिजा देखिनेगरी काम गर्ने पनि बताए ।

















