Hamro Sanchar

साफ च्याम्पियनसिप फाइनलको टिकट एन्फा आफैँले बेच्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, १३ गते


Advertisement

काठमाडौं । साफ महिला च्याम्पियन–२०२४ फाइनलको टिकट अखिल नेपाल फुटबल संघ (एन्फा) आफैँले बेच्ने भएको छ ।

एन्फाले आज पत्रकार सम्मेलनमार्फत फाइनलका निम्ति आफैँले टिकट बेच्ने जनाएको हो ।

यसअघि, एन्फाले साफ च्याम्पियनसिपको टिकेटिङ पार्टनरको रूपमा माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिसँग सम्झौता गरेको थियो । एन्फाले प्रतियोगिताका निम्ति एभरेस्टसँग ८० लाख रुपैयाँमा सम्झौता गरेको थियो ।

तर, प्रतियोगिताको सेमिफाइनलमा सम्झौताविपरीत टिकट बेचेको र त्यसले रंगशालामा गम्भीर सुरक्षा चुनौती बढाएको भन्दै एन्फाले सम्झौता रद्द गरेको जनाएको हो ।

दशरथ रंगशालाको क्षमता १५ हजार प्यारापिट हो । एन्फाले एभरेस्टलाई एक खेलमा बढीमा ११ हजार टिकट बेच्न भनेको थियो । तर, कम्पनीले १८ हजार टिकट बेचेको एन्फाले जनाएको छ ।

“कम्पनीले सम्झौताविपरीत क्षमताभन्दा धेरै टिकट बेचेको, सुरक्षा व्यवस्थापन चुस्त बनाउन नसकेको र खेलमा गम्भीर सुरक्षा चुनौती देखिएको हुँदा हामीले सम्झौता रद्द गरेको हौँ,” एन्फाका प्रवक्ता सुरेश शाहले पत्रकार सम्मेलनमा भने, “हामीले स्पष्टीकरण पनि सोधेका थियौँ । आज १० बजेसम्मको समय थियो । तर, उताबाट कुनै प्रतिक्रिया नआएपछि यो निर्णयमा पुग्यौँ । फाइनलको टिकट एन्फाले नै बेच्ने छ ।”

एन्फाले अब फाइनलका निम्ति ११ हजार टिकटमात्रै बेच्ने जनाएको छ । जसमा साधारणतर्फ १० हजार र भीआईपीतर्फ एक हजार टिकट बेचिने छ । एन्फाले फिफाको नियमअनुसार क्षमताको २० प्रतिशतको टिकट नबेच्ने भएको हो।

एन्फाले फाइनलका लागि बुधबार बिहान ८ बजे जावलाखेल, एन्फा मुख्यालय सातदोबाटो र त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको आर्मी मुख्यालयतर्फको गेटबाट टिकट लिन सकिने जनाएको छ ।


प्रतिकृया दिनुहोस्