Hamro Sanchar

साफ च्याम्पियनसिपको सेमिफाइनल आज : नेपाल-भारतसंग भिड्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, ११ गते


Advertisement

काठमाडौं । साफ महिला च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा आज पाँचपटकको विजेता भारत र पाँचैपटकको उपविजेता नेपाल भिड्दै छन्।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने दोस्रो सेमिफाइनल खेल साँझ साढे ६ बजे सुरु हुनेछ।

यसअघिका चार संस्करणमा उपाधिका लागि भिडेका यी दुई टोली लगातार दोस्रोपटक सेमिफाइनलमा आमनेसामने हुन लागेका हुन्।

साफको इतिहासमा नेपालले एकपटक मात्र भारतलाई पराजित गरेको छ।

अघिल्लो संस्करण घरेलु मैदानमा भएको सेमिफाइनलमा नेपालले भारतलाई १–० गोल अन्तरले पराजित गरेको थियो। पहिलो हाफको इन्ज्युरी समयमा रश्मिकुमारी घिसिङले गरेको गोल नै नेपालका लागि निर्णायक बनेको थियो।

नेपाली टोली यो संस्करण पनि अघिल्लोपटकको नतिजालाई दोहोर्‍याउने योजनामा मैदान उत्रँदै छ।

उता भारतीय टोली भने नेपाली टोलीसँग भोगेको हारको बदला लिने दाउमा छ।

सन् २०२२ को साफ च्याम्पियनसिपपछि नेपाल र भारत दुईपटक भेट भएका छन्। ती दुवै भेटमा भारतले नेपाललाई हराउन सकेको छैन। दुवै मैत्रीपूर्ण खेल बराबरीमा सकिएको थियो।

साफको सेमिफाइनलमा दोहोरियो इतिहास, भारतलाई हराएर बंगलादेश पन्छाउने नेपालको दाउ

त्यसैले पनि नेपाली टोली उच्च मनोबलमा छ। घरेलु मैदानमा समर्थकको बलियो साथमा रहको नेपाली टोली भारतलाई लगातार दोस्रोपटक स्तब्ध पार्दै उपाधिनजिक पुग्ने रणनीतिमा छ।

साफ महिला च्याम्पियनसिपमा नेपाल र भारत चिर प्रतिद्वन्द्वी टोली हुन्।


प्रतिकृया दिनुहोस्