काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उपसभामुखलाई हटाउने कदम नचाल्न आग्रह गरेका छन्।
आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछानेले आफूले प्रधानमन्त्री ओलीलाई भेटेर उपसभामुखको विषयमा भइरहेको चर्चा परिचर्चाहरूको बारेमा वास्तविकता के हो भनी प्रश्न गरेको बताए।
यदि उपसभामुखलाई हटाइए सत्तारुढ दलहरूका लागि आत्मघाती हुने चेतावनीसमेत उनले दिएका छन् ।
‘कांग्रेस र एमालेले प्राप्त गरेको मत भनेको भोट हाल्न सक्ने मतदाताको ३० प्रतिशत मात्रै हो। ७० प्रतिशतको प्रतिनिधित्व रास्वपा लगायतका दलहरूले गर्छन्, यो हेक्का रहोस्। ७० प्रतिशतलाई ३० प्रतिशतले च्यालेन्ज नगरे हुन्छ। उहाँहरूको यो आत्मघाती गोल हुन्छ। आफ्नै पोस्टमा गोल हान्ने विचार गर्नुभएको छ भने मेरो भन्नु के छ र?,’ उनले भने।
उपसभामुखलाई हटाउन लागेको हो भने गलत गर्दै हुनुहुन्छ भनेर आफूले सचेत गराएको उनको भनाइ छ। लामिछानेले दुई तिहाइको शक्ति भएको सरकारका प्राथमिकता अरू धेरै भएको भन्दै शक्तिको सदुपयोग नगर्न आग्रह गरेको पनि जानकारी दिएका छन् ।
ओलिले उपसभामुखका विषयमा आफु छलफलमा रहेको र नेपाली कांग्रेससँग पनि छलफल गर्छु भनेको बताए ।