आज : २०८१ आश्विन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कागेश्वरी मनोहरा नगरपालिका र जापानको ओचुकी सिटीबीच गाँसियो भगिनी सम्बन्ध

प्रदिप नेपाली प्रकाशित : २०८१ भदौ, १९ गते


Advertisement

काठमाडौं, भदौ १९- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका र जापानको ओचुकी सिटीबीच भगिनी सम्बन्ध गाँसिएको छ । बुधबार गोकर्ण फरेस्ट रिसोर्टमा एक कार्यक्रमकाबीच मेयर उपेन्द्र कार्की र प्रान्तीय सभाका सभापति उजुकी मासाइतोबीच भगिनी सम्बन्ध कायम गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारी पत्रमा दुई शहरका बीचमा पारस्परिक सम्मान, आपसी राजनीतिक विश्वास, समानता र पारस्परिक लाभको सिद्धान्तलाई कायम राख्दै दुवै पक्षले मैत्रीपूर्ण रुपमा सहयोग आदानप्रदान गर्ने उल्लेख छ ।

त्यस्तै, साझा समृद्धि र विकासलाई प्रवर्द्धन गर्न दुवै पक्षले अर्थतन्त्र, संस्कृति, कृषि, पशुपालन र पर्यटन लगायतका क्षेत्रमा विभिन्न सहयोग आदानप्रदान गरिने समझदारी भएको छ ।

सम्झौता कार्यक्रममा जापानका तर्फबाट ओचुकी सिटीका मेयर कोबायासी नोबुयासु अनलाइनमार्फत जोडिएका थिए भने स्पीकर प्रान्तीय सभाका सभापति उजुकी मासाइतो, आकाफुजी दाइका अध्यक्ष हिरोभी इसीओका, नेपाल जापान फ्रेन्डसीप सोसाइटीका अध्यक्ष लेखनाथ घिमिरे र कूटनीतिक नियोगका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो भने कागेश्वरी मनोहराका तर्फबाट मेयर कार्कीसहित उपमेयर शान्ता थापा, प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, वडा नम्बर १ का अध्यक्ष मकुन्द गजुरेल, ४ का अध्यक्ष बिजय श्रेष्ठ घन, ५ का अध्यक्ष शंकर पाण्डे, ६ का अध्यक्ष प्रकाश फुयाल र ८ का अध्यक्ष हरिभक्त पुडासैनीलगायत नगरपालिकाका विभिन्न शाखाका प्रमुख कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा आकाफुजी दाइका अध्यक्ष हिरोभी इसीओकाले आफु ४०औं पटक नेपाल आएको स्मरण गर्दै आफु आफ्नै देश आएको अनुभूति भएको सुनाए । आफुले नेपालका बिद्यालय तहदेखि युनिभर्सिटीमा समेत काम गरेको बताए । यो भगिनी सम्बन्ध पश्चात् नेपाल वा यहाँका स्थानीय जनताले जापानको रहनसहन, विकास र सम्वृद्धिका बारेमा बुझ्नुका साथै जापानका जनताले पनि नेपालको रहनसहन, रितिरिवाज र स्थानीय परिवेशलाई सहजै बुझ्न सक्ने बिश्वास व्यक्त गरे । भगिनी सम्बन्ध कायम गर्नुको उदेश्य दुइ देशबीचको सम्बन्ध सुधार गर्नु र एक-आपसमा सहयोग आदानप्रदान गर्नु नै रहेको बताउदै नेपालको सर्बोच्च शिखर सगरमाथा र जापानको फुजी पहाडलाई भगिनी सम्बन्धसँग जोड्न चाहेको बताए ।

ओचुकी सिटीका मेयर कोबायासी नोबुयासुले दुई शहरकाबीच यस किसिमको सम्बन्ध कायम भएकोमा खुसी व्यक्त गरे । उनले भगिनी सम्बन्ध कायम गर्ने कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा जस्तोसुकै कार्यक्रमको लागि सहकार्य गर्न तयार रहेको जानकारी दिए । आफुहरु जनस्तरीय हिसाबले अघि बढ्ने बताए ।

यस्तै प्रान्तीय सभाका सभापति उजुकी मासाइतोले आफ्नो नेपाल भ्रमण पहिलो पटक भएपनि एकदम खुसी लागेको सुनाए । जापान आरु, आरुबखडा, नासपाती र अंगुर प्रसस्त उत्पादन हुने ठाउँ भएकाले आधुनिक कृषिको टेक्नोलोजी यहाँ भित्र्याउन चाहने र नेपालको कृषिलाई उत्पादनलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले दुई सिटीको सम्बन्ध प्रगाढ बनाउन लाग्ने बताए ।

कार्यक्रममा नगरपालिका उपमेयर शान्ता थापाले बिशेषगरी भगिनी सम्बन्ध स्थापना गर्न सधाउ पुर्याउने ओत्सुकी सिटीका मेयरलगायत यस कार्यमा लाग्ने सबैलाई धन्यवाद दिइन् । उनले यस सम्बन्ध स्थापनाले दुवै सिटीलाई सहयोग पुग्ने बिश्वास व्यक्त गरिन् ।

हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कार्कीले दुई शहरमा भएका असल अभ्यासहरु आदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।ओचुकी सिटी कृषि, पर्यटनलगायतका क्षेत्रमा भएको विकासबाट आफू प्रभावित भएको बताउँदै उनले भने, ‘हामीले कृषि र पर्यटन प्रबद्र्धनको क्षेत्र सिक्न सक्ने प्रशस्त ठाउँ छन्, ती कुराहरुलाई पनि हामीले यहाँ भित्राउन पहल गर्नेछौं ।’

मेयर कार्कीले भगिनी सम्बन्धले दुई शहर एक अर्काको सुखदुःखको साझेदार भएको बताए । मेयर कार्कीले कागेश्वरी मनोहराले शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन प्रवर्द्धन र खेलकुद नगरी बनाउने गरि प्राथमिकताका साथ कार्य अघि बढिरहेको भन्दै भोलिका दिनमा त्यस कार्यमा जापानी अनुभव र प्रबिधिहरु आफुहरुले सहयोग पाउने अपेक्षा अपेक्षा गरे ।

मेयर कार्कीले ओचुकी सिटीका मेयर कोबायासी नोबुयासुलाई छिट्टै नै समय मिलाएर नेपालको प्रकृतिको रमणीयता हेर्न, यहाँको सर्बोच्च शिखर सगरमाथालगायत कागेश्वरी मनोहरा नगरपालिकाको भ्रमण गर्न निम्तोसमेत दिए ।

नेपाल र जापानको सम्बन्ध  निकै नै व्यवस्थित, सुन्दर एवं शान्त शहर रहेको बताउदै आफुहरु नेपाल र जापानको मित्रताको झण्डा अझै फहराउदै जाओस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले स्वागत तथा शिक्षा शाखा प्रमुख पुष्प ढकालले सहजीकरण गरेको कार्यक्रममा  अन्तर्राष्ट्रिय सम्बन्ध शाखाकी अस्मिता गजुरेलले नगरपालिकाको बारेमा बृस्तृत रुपमा प्रस्तुत गरेकी थिइन् ।


प्रतिकृया दिनुहोस्