Hamro Sanchar

सरकारले जनताको अधिकार खोस्न लाग्यो, प्रतिकार गर्न तयार रहनुपर्छ : प्रचण्ड

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, १९ गते


Advertisement

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादीका) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारले जनताको अधिकार खोस्न लागेको आरोप लगाएका छन् ।

केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त परामर्श बैठक समापनमा बोल्दै अध्यक्ष प्रचण्डले सरकारले संविधान संशोधनमार्फत जनताको अधिकारलाई उल्टाउने प्रयास गरिरहेको भन्दै सशक्त प्रतिकार गर्न तयार रहनुपर्ने बताएका हुन् ।

उनले भने, ‘यो सरकारले जनविरोधी काम गर्न सुरु गरिसकेको छ। हामीले बेलैमा खबरदारी गर्नुपर्छ। संविधान संशोधनमार्फत जनताको अधिकारलाई खोस्ने प्रयास हुँदैछ।’

उनले प्रतिपक्षमा रहेका दलहरूलाई पनि साथ लिएर सरकारविरुद्ध खरो रूपमा उत्रिनुपर्ने बताएका छन् । उनले पार्टीभित्र अब कुनै विवाद नरहेको भन्दै एकताबद्ध भएर संगठन निर्माणका लागि जनतामा जानुपर्नेमा जोड दिएका छन्।

पार्टी मुख्यालय पेरिसडाँडामा हिजो सुरु भएको बैठकमा नेताहरूले उठेको प्रश्नको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएपछि बैठक टुंग्याइएको हो।

माओवादीले प्रदेश स्तरीय परामर्श समितिको बैठक बसेपछि केन्द्रीय कमिटीको बैठक बस्ने तयारी गरेको छ। प्रचण्डले अहिलेसम्म बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा परामर्श लिइसकेका छन्।

परामर्श समितिको बैठकमा पार्टीका उपमहासचिवसम्म सहभागी छन्। केन्द्रीय कमिटीको बैठकपछि पार्टीलाई जनता केन्द्रित बनाउने माओवादीको तयारी छ ।


प्रतिकृया दिनुहोस्