Hamro Sanchar

एमाले र कांग्रेसले बलमिच्याइँ गरेर मलाई प्रधानमन्त्रीबाट हटाए ; प्रचण्ड

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, १६ गते


Advertisement

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी अध्यक्ष पद टीका लगाएर हस्तान्तरण गर्ने चिज नभएको बताएका छन्।

प्रेस सेन्टर बाँकेले आज नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीमा सिस्टम बनाएर उत्तराधिकारी नेता बनाउने तयारी भएको उल्लेख गरेका छन् ।

‘म सधैँभरि नेतृत्वमा भइरहनुपर्छ भन्ने छैन, मेरा लागि अध्यक्ष पद नभई नहुने छैन’, अध्यक्ष प्रचण्डले भने, ‘पार्टीको अध्यक्ष पद टीका लगाएर हस्तान्तरण गर्ने चिज होइन, सिस्टम र विधि बनाएर उत्तराधिकारी तयार गर्दै छु।’

आफूलाई अध्यक्ष भइरहने रहर नभएको दाबी उनले गरेका छन् । तर आफूले छाड्दा नेतृत्व हस्तान्तरण वा पुस्तान्तरण भइहाल्छ भन्ने नलागेको उनको भनाइ छ।

पार्टीलाई सुदृढ बनाउन देशव्यापी अभियान सञ्चालन गरेको जनाउँदै उनले प्रदेशस्तरीय भेलामा भएको परामर्शको आधारमा पार्टीलाई एकरुपता र एकढिक्का बनाएर अगाडि बढाउने बताए।

अध्यक्ष प्रचण्डले समाजवादी मोर्चालाई व्यवस्थित गर्दै विचार मिल्ने दलहरूबीच पार्टी एकता गर्दै जाने योजना रहेको बताए।

उनले आफूले राम्रो गर्दागर्दै पनि दुई ठूला दल एमाले र कांग्रेसले बलमिच्याइँ गरेर प्रधानमन्त्रीबाट हटाएको आरोप लगाएका छन् ।


प्रतिकृया दिनुहोस्