Hamro Sanchar

सत्ताच्यूत भएर बिदेसिएकि हसिनाको पहिलो प्रतिक्रिया : अगस्ट १५ मा राष्ट्रिय शोक दिवस मनाउनु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, ३० गते


Advertisement

काठमाडौं । प्रधानमन्त्री पद त्याग्दै भारत भागेकी शेख हसिनाले यो पूरै घटनापछि पहिलोपटक प्रतिक्रिया दिएकी छन्। शेख हसिनाका छोरा सजीव वाजिदले सामाजिक सञ्जालमा आफ्नो आमाको प्रतिक्रिया पोस्ट गरेका छन्।

जसमा हसिनाले देशमा दंगा गर्नेलाई कारबाही गर्न माग गर्दै आफ्ना पिता तथा बंगलादेशका संस्थापक शेख मुजिबुर रहमानको सालिक तोडफोड गरिएको घटनामा न्याय पाउनुपर्ने माग गरेकी छन्।

छोरा सजीवले गरेको पोस्टमा शेख हसिनाले १५ अगस्ट १९७५ मा कसरी बंगलादेशका तत्कालीन राष्ट्रपति मुजिबुर रहमान र उनको सम्पूर्ण परिवारको निर्ममतापूर्वक हत्या गरिएको थियो भन्ने कुरा उल्लेख गरेकी छन्।

बुबालाई सम्झेपछि शेख हसिनाले देशको पछिल्लो अवस्थाबारे बोल्दै गत जुलाईदेखि अहिलेसम्म आन्दोलनका नाममा भएका हिंसा र आगजनीका कारण देशका कैयौँ निर्दोषले ज्यान गुमाउनु परेको उल्लेख गरेकी छन्।

हसिनाले यस्ता जघन्य अपराधमा संलग्नलाई कडा कारबाही गर्न माग गर्दै अगस्ट १५ लाई राष्ट्रिय शोक दिवसका रूपमा मनाउन देशवासीलाई अपिल गरेकी छन्।

वास्तवमा बंगलादेशका मिडियामा नयाँ अन्तरिम सरकारले १५ अगस्टको राष्ट्रिय बिदा रद्द गर्न लागेको दाबी भइरहेको छ। शेख हसिनाको यो भनाइ सोही परिप्रेक्ष्यमा आएको हो।

स्वतन्त्रता सेनानीका सन्तानलाई सरकारी जागिरमा दिने गरिएको आरक्षणको विरोधमा महिनौँदेखि चलेको हिंसात्मक आन्दोलनका कारण शेख हसिना यही अगस्ट ५ का दिन देश छाडेर भारत भाग्न बाध्य भइन्।

हाल बंगलादेशमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भइसकेको छ ।


प्रतिकृया दिनुहोस्