काठमाडौं । हमासको सिभिल डिफेन्स एजेन्सीले गाजाको एउटा विद्यालयमा बनाइएको आश्रयस्थलमा इजरायलले आक्रमण गर्दा धेरै व्यक्तिको मृत्यु भएको जनाएको छ।
इजरायली सेनाले विद्यालयमा सञ्चालित हमासको कमान्ड एन्ड कन्ट्रोल सेन्टरलाई निशाना बनाएको जनाएको छ।
गाजाको सिभिल डिफेन्स एजेन्सीले दराज जिल्लामा भएको आक्रमणमा कम्तीमा ९० जनाको मृत्यु भएको र धेरै घाइते भएको जनाएको छ।
तर बीबीसीले यसलाई स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिएको जनाएको छ।
सिभिल डिफेन्स एजेन्सीका प्रवक्ता महमुद बस्सलले एएफपी समाचार एजेन्सीसँग मृत्यु हुनेको संख्या ९०–१०० को बीचमा भएको र धेरै व्यक्ति घाइते भएको बताएका छन्।
प्यालेस्टाइनबाट विस्थापित मानिसहरूलाई राखिएको विद्यालयमा तीनवटा इजरायली रकेटले आक्रमण गरेको बताइएको छ।
यसअघि टेलिग्राममार्फत सिभिल डिफेन्सका प्रवक्ताले यसलाई ‘नरसंहार’ भनेका छन्।
इजरायली सेनाले भने अल-ताबाइन स्कुलमा रहेको हमास कमान्ड एन्ड कन्ट्रोल सेन्टरभित्र सञ्चालित हमास ‘आतंककारीहरू’लाई आक्रमण गरिएको दाबी गरेको छ ।