काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले बहुमतको घमण्ड देखाए दुर्भाग्य हुने चेतावनी दिएका छन् ।
मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्ने क्रममा अध्यक्ष प्रचण्डले सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षले पाउनुपर्ने भन्दै सरकारले यो विषयलाई गम्भीरताका साथ नलिइ जबरजस्ती बहुमतको घमण्ड देखाए दुर्भाग्य हुने चेतावनी प्रचण्डले दिएका हुन्।
उनले सरकार गलत बाटोमा हिँडेको समेत आरोप लगाएका छन्। अध्यक्ष प्रचण्डले राज्यको अर्बौँ सम्पत्ति छुट दिन गरेको चलखेल आफूलाई सबै थाहा भएको जिकिर गरेका छन् ।
साथै, उनले अहिलेको सरकार नै विचौलियाले बनाइदिएको बताउँदै उनीहरूकै सेवा गरिरहेको बताए ।
फरक प्रसंगमा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले आफूहरू संविधान संशोधनको विपक्षमा नरहेको भन्दै विधान संशोधन अहिलेसम्म प्राप्त उपलब्धिहरूमा टेकेर उत्पीडित क्षेत्र, वर्ग र समुदायलाई अझ बढी अधिकार सम्पन्न बनाउनका लागि समर्थन गर्ने बताए।
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्ने कुरामा जोड दिँदै प्रचण्डले सरकार दलाल, विचौलिया, उद्योग व्यवसायीहरूलाई राज्यको राजश्व छुट दिने पक्षमा गएको आरोप लगाएका छन् ।
उनले संविधान संशोधनको विषयलाई अधिकार कटौती गर्नेगरी दुस्साहस भएको खण्डमा सडकबाटै प्रतिवाद गर्ने चुनौती पनि दिएका छन्।