
काठमाडौँ, असार २६- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले आर्थिक बर्ष २०८१/८२ को लागी कुल २ अर्ब ७८ करोड रुपियाँको बजेट संसोधनसहित पारित गरेको छ । बुधबार सम्पन्न नगरसभाको दशौँ अधिबेशनमा प्रस्तुत नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित भएको हो ।
नगरसभाको गत असार १० गते उद्घाटन सत्रमा नगरप्रमुख उपेन्द्र कार्कीले नीति तथा कार्यक्रम र उपप्रमुख शान्ता थापाको तर्फबाट नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष मुकुन्द प्रसाद गजुरेलले बजेट प्रस्तुत गरेका थिए ।
बुधबार सम्पन्न नगरसभा अधिबेशनले नगरपालिका सदस्यहरुबाट उठेका बिषय थप र संशोधन गर्दै नीति तथा कार्यक्रम र बजेट पारित भएको हो ।
नगरपालिकाले सामाजिक क्षेत्र, व्यवस्थित शहरी विकाससहितको भौतिक पूर्वाधार, स्वच्छ खानेपानी, नगरपालिकामा रहेको नगर अस्पताल लगायत सम्पूर्ण स्वास्थ्य केन्द्रहरु र शहरी स्वास्थ्य केन्द्रको क्षमता विस्तार र सुधार, ज्येष्ठ नागरिकलाइ घरदैलोमा नि:शुल्क स्वास्थ्य उपचार सेवा, उपमेयरसँग महिला प्रजनन स्वास्थ्य सेवा कार्यक्रमलाई निरन्तरता, विद्यालय स्वास्थ्य कार्यक्रमलाइ प्राथमिकता दिएर बजेट छुट्याइएको नगरप्रमुख कार्कीले जानकारी गराए ।
“सबल, सक्षम, सुशासनयुक्त, विकासमुखी स्थानीय सरकार” नारा दिएको नगरपालिकाले दिगो र गुणस्तरीय पूर्वाधार विकास, सर्वसुलभ, रोजगारमुलक, संस्कारयुक्त र गुणस्तरीय शिक्षा, सर्वसुलभ र गुणस्तरीय विशेषज्ञ सेवासहितको स्वास्थ्य सेवा, दिर्घरोगी, जेष्ठ नागरिक, गर्भवती र प्रसुती भएका महिलाहरुलाई नगर अस्पतालबाट ‘डोर टु डोर’ निशुल्क एम्बुलेन्स सेवा, नगरपालिकाभित्र रहेका नियमित रुपमा अक्सिजन लगाउनु पर्ने बिरामीहरुलाई निशुल्क अक्सिजनको व्यवस्था, रोजगारमुलक सीप विकास एवम् उद्यमशिलता प्रवर्द्धन, कृषि क्षेत्रलाई आधुनिक बनाई उत्पादन अभिवृद्धि गर्दै आर्थिक विकास गरि गरिबी निवारण गर्ने, प्रशासनिक सुशासन कायम गर्दै सूचना प्रविधिमा आधारित सेवा प्रवाह र चुस्त एवम् दुरुस्त, खेलकुद पूर्वाधार विकास एवम् खेलाडी उत्पादन, विकास आयोजना छनोट तथा संचालन गर्दा जनताको जीवनस्तर, आम्दानी र रोजगारी बढ्ने, स्थानीय श्रोत साधन र सिपको अधिकतम प्रयोग गर्ने, महिला, दलित, अपांग, आदिबासी, जनजाती, अल्पसंख्यक र बालबालिकालाई प्रत्यक्ष लाभ पुग्ने, समावेसी र दिगो विकास, वातावरणीय संरक्षण तथा सम्बर्द्धन गर्न सघाउ पुर्याउने, भाषिक तथा सांस्कृतिक पक्षको जगेर्ना र सामाजिक सद्भाव तथा एकता अभिबृद्धिमा सघाउ पुर्याउने जस्ता क्षेत्रहरुलाई प्राथमिकताका साथ नीति तथा कार्यक्रममा समेटेर बजेट छुट्याएको छ ।
यस्तै, मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माण छिटो सम्पन्न गर्न नेपाल सरकारसंग समन्वय गर्ने र सोहि मैदानमा मेयर कप क्रिकेट प्रतियोगिता संचालन गरिने, युवाहरुलाई रोजगार तथा उद्यमशीलतासंग जोड्दै युवा लक्षित कार्यक्रम संचालन, नगरपालिकामा प्रत्येक घरमा ‘एक घर एक धारा’ अभियान अन्तर्गत स्वच्छ खानेपानी उपलब्ध गराउनको लागि डाँछी भद्रबास खानेपानी आयोजना र गोठाटार भैमाल खानेपानी आयोजनालाई समयमा सम्पन्न गर्ने र नयाँ मुलपानी खानेपानी तथा सरसफाई आयोजना संचालन गर्ने, स्मार्ट सिटीका कारणले अंशबण्डा, नक्सा पासमा देखिएको समस्यालाई समाधान गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने, निजि क्षेत्रको समन्वयमा एक वडा एक नमुना बस्ति विकास कार्यक्रम सुरुवात गरिने पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
त्यसैगरी ‘कौशीमा उत्पादन गरौँ अल्छी नगरी’ अभियान संचालन गरि प्रत्येक घरमा ब्यबस्थित कौशी खेति प्रवर्द्धन कार्यक्रम सुरुवात गरिने, नगरपालिकाभित्र रहेका धार्मिक मठ मन्दिर, धार्मिक स्थल, पर्यटकीय स्थल, पार्क, सामुदायिक वन, खेल मैदान, होम स्टे, विभिन्न समुदायका जात्रा पर्व, भेषभूषाको प्रवर्द्धन विकास र संरक्षण मार्फत पर्यटन विकास गरिने, नगरपालिका प्रदान गरिने सेवाको जानकारी आर्थिक वर्षको साउन १ गतेदेखि डिजिटल नागरिक वडापत्र मार्फत जानकारी उपलब्ध गराउने व्यवस्था मिलाइने, न्यून आए भएका दलित समुदायका विद्यार्थीहरुलाई छात्रवृत्तिको ब्यबस्था मिलाइने र अति विपन्न र दलित समुदायको स्वास्थ्य विमा प्रिमियम नगरपालिकाले व्यहोर्ने ब्यबस्था गरिने छ नीति तथा कार्यक्रममा समेटिएको छ ।
नगरपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ६८ बर्ष माथिका सबै जेष्ठ नागरिकहरुलाई चाडवाड खर्च वापत एकै पटक उपलब्ध गराउँदै आएको २ हजार निरन्तरता दिएको छ ।
समापन कार्यक्रममा नीति तथा कार्यक्रम र बजेटबारे वडाअध्यक्ष र नगरसभाका सदस्यहरुले आ-आफ्नो सुझाव र जिज्ञासा राखेका थिए ।
कार्यक्रममा उठेका जिज्ञासालाई सम्बोधन गर्दै नगरप्रमुख कार्की र उप-प्रमुख थापाले कार्यक्रममा समावेश भएका बिषयहरु सबै मिलेर सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।



















