
काठमाडौं, असार २५- दोलखाको मेलुङ गाउँपालिकाका महिलाहरुलाई १२ हजारभन्दा बढी सुन्तलाका बिरुवा वितरण गरिएको छ ।
हेफर नेपाल र सीडीएफ दोलखाको साझेदारी एवम् मेलुङ गाउँपालिकाको व्यवस्थापनमा वडा नम्बर १ का १९ वटा महिला समूहका महिलाहरुलाई सुन्तलाका बिरुवा वितरण गरिएको गाउँपालिका अध्यक्ष हिरा थोकरले जानकारी दिए ।
यसले महिलालाई आत्मनिर्भरता तर्फ उन्मुख हुन सहयोग पुग्ने थोकरले विश्वास व्यक्त गरे ।
गाउँपालिकाले सुन्तलाखेती प्रवर्द्धनमा जोड दिएको छ । सुन्तलाखेती प्रवर्द्धनका लागि कृषकलाई अनुदानलगायतका विभिन्न कामहरु गर्दै आइरहेका छन् ।
गाउँपालिकाले सुन्तलाखेती गर्न प्रोत्साहनका लागि सुन्तला उत्पादक कृषकहरुलाई अनुदानमा बिरुवा, बगैँचा व्यवस्थापनका लागि कृषि सामग्री उपलब्ध गराउँदै आएको हो । प्राविधिकहरु बगैँचामै पुगेर सुन्तलामा देखा परेको समस्या पत्ता लगाएर निराकरणको उपाय खोजी गर्ने, माटो परीक्षण गराउनेलगायत पनि गरिरहेको गाउँपालिका अध्यक्ष थोकरले बताए ।
पवटीमा फलेको सुन्तलाले जिल्ला धान्ने गरेको छ । पवटीको सुन्तला तामाकोशी बजार, चरिकोट बजार र काठमाडौंमा समेत निर्यात हुने गर्दछ । पवटीका सबै जसो किसानले सुन्तला लगाउने गरेका छन् । अहिलेसम्म ९ सयभन्दा बढी घरधुरीले सुन्तला खेति गरेको गर्दै आएका छन् । एउटा घरले बार्षिक न्युनतम १ लाखको सुन्तला बेच्ने गरेका छन् ।
पवटी एक हजार २ सय पचास मिटर उचाइमा पर्ने भएकाले सुन्तला उत्पादनका उपयुक्त स्थान मानिन्छ ।



















