Hamro Sanchar

फणिन्द्र देवकोटाले फ्लोर क्रस गरेपछि गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, २८ गते


Advertisement

काठमाडौं, जेठ २८- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राएका छन् ।

नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्नबाट २०७९ को चुनावमा गोरखा क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र १ बाट जितेका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले फ्लोर क्रस गरेपछि मुख्यमन्त्री पाण्डेलाई मत दिएका हुन् ।

देवकोटा बाबुराम भट्टराईनिकट हुन् । नेसपाले २०७९ को चुनावमा माओवादीको चुनाव चिह्न लिएको थियो ।

सोमबार अपराह्न बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री पाण्डेले संविधानको धारा १६८ को उपधारा ४ र प्रदेश सभा नियमावली २०८० को नियम १५० बमोजिम विश्वास मत प्रस्ताव राखेका थिए ।

सोमबारको प्रदेश सभामा ५९ जना सांसद उपस्थित थिए । मुख्यमन्त्री पाण्डेले राखेको प्रस्तावको पक्षमा ३१ सांसद र विपक्षमा २८ सांसदले मतदान गरेका थिए ।

साथै राप्रपाका दुई र स्वतन्त्र सांसद राजिब गुरूङले पनि मुख्यमन्त्रीका पक्षमा विश्वास मत दिएका छन् ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पाण्डेको दल नेपाली कांग्रेसका २७ जना सांसद छन् । राप्रपाका २, माओवादीको चुनाव चिन्हबाट जितेका एक र स्वतन्त्र एक सांसद गरी ३१ जनाले मुख्यमन्त्री पाण्डेलाई विश्वास मत दिएका हुन् ।

देवकोटाले फ्लोर क्रस गरेपछि एमाले र माओवादी सांसदहरूले वेल घेराउ गर्दै केहीबेर नाराबाजीसमेत गरेका थिए ।


प्रतिकृया दिनुहोस्