
सुर्खेत, जेठ २७- कर्णाली नदीमाथिको झोलुंगे पुलमा फसेका १३ मध्ये ११ खच्चडको जीवितै उद्धार गरिएको छ । उद्धारका क्रममा दुई वटा खच्चडलाई बचाउन नसकिएको आठबीस नगरपालिका–६ का अध्यक्ष नवराज शर्माले जानकारी दिए । उनकाअनुसार एक खच्चड पुलमै मरिसकेको थियो भने अर्को जाली काटेर नदीमा झारेपछि मरेको हो ।
अछामको पञ्चदेवल विनायक नगरपालिका– ९ कालेकाँडा र दैलेखको आठबिस नगरपालिका– ६ खिड्कीजिउला जोड्ने झोलुंगे पुलको जाली लत्रिएपछि आज बिहानदेखि १३ खच्चड पुलको बीचभागमा अड्किएका थिए । खच्चडलाई पुलको जाली काटेर कर्णालीमा खसाली उद्धार गरिएको हो ।
पुलको दाहिनेतर्फको जाली लत्रिएको थियो । खुट्टा जालीभित्र पसेपछि खच्चड पुलमा अड्किएका थिए । पुलको दाहिनेतर्फको भाग पुरै बांगाे भएको छ ।
उद्धारमा अछामस्थित नेपाली सेनाको गोरख बक्स गणको टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासी खटिएका थिए ।

















