Skip

Hamro Sanchar

रवि लक्षित प्रदीप टिप्पणी : छानबिन समिति बनेपछि पदमा बस्ने कि नबस्ने नैतिकतामा भर पर्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, २६ गते


काठमाडौं, जेठ २६- नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले संसदीय छानबिन समिति गठन गरिसकेपछि पनि नैतिकताको बोध नगरिने राजनीतिको अभ्यास नेपाली राजनीतिमा गम्भीर विषय बनेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सांसद पौडेलले त्यस्तो प्रवृत्तिको अन्त्य कांग्रेसले गर्ने पनि बताएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका रवि लामिछानेप्रति इंगित गर्दै राजीनामा दिने नदिने विषय व्यक्तिको नैतिकतामा भर पर्ने समेत पौडेलले बताए।

‘तपाईंमाथि छानबिन हुँदाहुँदै पनि तपाईं त्यस कुर्सीमा बसिरहन पाउनुहुन्छ । राजनीतिमा नैतिकता व्यक्तिसँग निर्भर गर्ने कुरा हो । कोही व्यक्ति नांगै छ र पनि कपडा लगाएको ठान्छ भने त्यसमा हाम्रो केही लाग्दैन,’ उनले भने।

पौडेलले राजीनामा दिनुपर्दैन भनेर फकाएर र लामिछाने जुन कुर्सीमा छन् त्यसमै बसिरहन पाउने भनेपछि छानबिन समिति बनाइएको बताए।

‘त्यसपछि पनि नैतिकताको बोध नगरिने राजनीतिको अभ्यास नेपाली राजनीतिमा एउटा गम्भीर विषय हो । प्रतिगामी विषय हो । जसलाई छानबिन भइरहेको छ, त्यो व्यक्तिले नै सत्ता चलाउने त्यो खालको परिस्थितिलाई नेपाली काँग्रेसले अन्त्य गरेर छोड्छ,’ उनले भने।

पौडेलले कांग्रेसले सहकारीको मुद्दा यसरी अगाडि नल्याएको भए पीडितहरूले न्याय पाउने बाटो नहुने पनि बताए।

‘७३ लाख जनता जोडिएको यो मुद्दालाई नेपाली काँग्रेसले एउटा निर्णायक मोडमा पुर्‍याएको छ । संसदमा नेपाली काँग्रेस पार्टीले यसलाई सशक्त ढंगबाट संसदमा भएका साना पार्टीहरु छोडेर कुनैपनि राष्ट्रिय पार्टीले यो सहकारीको मुद्दालाई उठाएको थिएन । नेपाली काँग्रेस पार्टीले यो मुद्दा उठाइसकेपछि बाध्य भएर कतिपय पार्टीहरु जोडिएको अवस्था हो,’ उनले भने।

लाखौं बचतकर्ताको ठगिएको विषयलाई गुपचुप गर्न र प्रमाण लुकाउन सत्तारूढ दल लागेकाले कांग्रेसले संसदीय छानबिन समितिको माग गरेको बताए।

‘सत्तालाई सम्पूर्ण रुपमा दुरुपयोग गरेर यो मुद्दा उठ्न नदिन, गुपचुप गर्न, ढाकछोप गर्न, प्रमाण लुकाउन सम्पूर्ण रुपमा अहिलेको सत्तारुढ गठबन्धन लागेको थियो। त्यसैले समिति गठन गरेर जसमाथि छानबिन गर्न खोजेको हो,’ उनले भने। न्युज एजेन्सी नेपाल


प्रतिकृया दिनुहोस्