काठमाडौं, जेठ २५- मधेश प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई डेढ करोड बजेट चलाउन दिने निर्णय गरेको छ ।
शुक्रबार गठित नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले यस्तो निर्णय गरेको मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बताए ।
मुख्यमन्त्री सिंहसहित मन्त्रीहरुको शपथ ग्रहणसँगै शुक्रवार बसेको पहिलो मन्त्रीपरिषद्को बैठकबाट मुख्यमन्त्रीले पदभार ग्रहणका क्रममा गरेका निर्णयहरु पारित गर्दै थप एक निर्णय गरेको हो ।
यस्तै नवनियुक्त मुख्यमन्त्री सिंहले ‘मधेश प्रदेश लगानी सम्मेलन’ गर्ने घोषणा गरेका छन् ।
मुख्यमन्त्रीको पदभार ग्रहणपछि मुख्यमन्त्री सिंहले मधेश प्रदेशका लागि दिगो विकासको योजना तयार गरी स्वदेशी वा विदेशी लगानी आकर्षण गर्न लगानी सम्मेलन गर्ने घोषणा गरे । उनले बाँझो जग्गा उपयोग, आफ्नै डिजिटल तथ्याङ्क बैंक स्थापना, वैदेशिक रोजगारबाट सीप सिकेर फर्किएका जनशक्तिका लागि सीपलाई रोजगारसँग जोड्ने कार्यक्रम, रङ्गशाला निर्माण तथा खेलाडीलाई प्रोत्साहनजस्ता विभिन्न कार्यक्रम गर्ने बताएका छन् ।
मधेस प्रदेशमा आजमात्रै नयाँ सरकार गठन भएको हो ।