
काभ्रे, जेठ १- काभ्रेमा रूखमा तारले बाँधेर जलाई हत्या गरिएका शवको पहिचान खुलेको छ । १० दिनदेखि वेपत्ता भएका दोलखाको भीमेश्वर नगरपालिका– २ राम्पाका विष्णुप्रसाद सुवेदीको शव भएको पुष्टि भएको छ ।
सुवेदी गत वैशाख २३ गते ललितपुरको टिकाथलीस्थित घरबाट दोलखा जाने भनेर निस्किएका थिए । उनको शव काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–४ जिरो किलोस्थित मेलम्ची–जिरो किलो सडक खण्डबाट करिब ५० मिटर तल बिरोजे खोल्चा जंगलमा जलेको अवस्थामा फेला परेको थियो ।
मुख र छातीमा फलामको तारले बेरेर रुखमा बाँधी प्रज्वलनशिल पदार्थ प्रयोग गरेर आगो लगाई जलेको र पहिचान गर्न नसक्ने अवस्थामा शव फेला परेको थियो ।
मंगलबार धुलिखेल अस्पतालमा गरिएको पोष्टमार्टमको आधारमा उनको शवको पहिचान भएको हो ।
दोलखाको सदरमुकाम चरिकोटमा व्यवसाय गर्दै आएका ५४ वर्षीय सुवेदीको व्यापक खोजतलास गर्दा पनि फेला पर्न सकेका थिएनन् ।














