
काठमाडौं, बैशाख २९- डा. गोविन्द केसीले २२ औँ अनसन सुरु गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै शनिबारबाट डा. केसीले पशुपतिको मृगस्थलीमा आमरण अनसन सुरु गरेका हुन् । सशस्त्र द्वन्द्वकालमा मानवताविरोधी अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतमा प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुपर्ने डा.केसीको माग छ ।
उनले निष्पक्ष रुपमा र पीडितहरुले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीद्द न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गर्न पनि माग गरेका छन् । डा.केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सशस्त्र द्वन्द्वकालमा मानवताविरोधी, घोर अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतका कारण प्रचण्डको प्रधानमन्त्री पदबाट तुरुन्त राजीनामा, निष्पक्ष रुपमा र पीडितहरुले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीन न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गरियोस् ।’
बृहत शान्ति सम्झौतापछि द्वन्द्वकालमा मानव अधिकार हनन, मानवताविरोधी अपराध र युद्ध अपराध गर्ने व्यक्तिहरु र दलहरु नै अहिलेसम्म निरन्तर सत्तामा रहेको भन्दै केसीले उनीहरुले शक्तिको आडमा छानबिन प्रक्रिया निस्तेज पारेर सजायबाट बच्ने दाउमा लागेको आरोप लगाएका छन् ।














