काठमाडौं, बैशाख १७- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफू प्रधानमन्त्री बन्छ कि भनेर केही व्यक्तिलाई पोल्ने गरेको टिप्पणी गरेका छन् ।
अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीप्रति संकेत गर्दै आफू प्रधानमन्त्री बन्छ भनेर पोल्ने प्रवृत्तिलाई हामीले धिक्कार छ भन्न चाहेको पनि बताए ।
पार्टी निकट अखिल नेपाल महिला संघ (समाजवादी)ले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले जसले जे भने पनि आफूहरुका लागि अनुकुल वातावरण बनाउने कुरामा ध्यान दिने बताए ।
मुलुकमा गणतन्त्र ल्याउनका लागि, शान्ति प्रक्रियालाई अघि बढाउनका लागि, जनतालाई न्याय दिलाउन र महिलाहरुको अधिकारलाई दिलाउनका लागि महत्वपूर्ण भुमिका आफूले खेलेको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यस अनुकूलको वातावरण बनाउन पछि नपर्ने बताए । उनले आफ्नो पार्टी प्रधानमन्त्री र मन्त्री बन्न भन्दा पनि देश र जनताको हितमा समर्मित भएर काम गर्न लागि परेको दाबी गरे । अध्यक्ष नेपालले आफ्नो पार्टीका नेता सहभागी भएको मन्त्रीले राम्रो काम गर्ने गरेको जिकिर पनि गरे ।
अध्यक्ष नेपालले ओलीले संविधान सभा विघटन गर्ने काममा गल्ती गरेँ भनेर स्वीकार गर्ने आँट अझै नगरेको भन्दै आलोचना पनि गरे ।