काठमाडौं, फागुन ३- विशेष अदालतले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङलाई दुई वर्ष कैद र ८० लाख जरिवाना सजाय सुनाएको छ ।
बिहीबार विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पुर्याएर भ्रष्टाचार गरेको मुद्दामा फैसला गर्दै मीनबहादुर सहितलाई दोषी ठहर गरेको हो ।
उनीसँगै अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख दिप बस्न्यात, पूर्व सचिव छविराज पन्तले मन्त्रिपरिषदको निर्णयको आवरणमा नक्कली मोही खडा गरी १९ रोपनी जग्गा सट्टापट्टा गरेको भन्दै २ वर्ष ८० लाख जरिवाना सुनाएको हो । राम सुवेदी, शोभाकान्त ढकाललाई पनि सोही सजाय सुनाएको छ ।
उनीहरूलाई जस्तै कसुर गरेको अभियोग लागेका मन्त्रीहरू विजयकुमार गच्छदार र डम्बर श्रेष्ठलाई भने सफाइ दिएको छ । उनीहरूले नीतिगत निर्णय गरेको भन्दै सफाइ दिएको हो । पूर्व सचिव दिनेशहरि अधिकारी र चन्द्रदेव जोशीले पनि सफाइ पाएका छन् ।