Hamro Sanchar

एक सिट जितेर एमाले शून्य हुनबाट जोगियो : माधव नेपाल

सत्ता गठबन्धनमा उलटफेर ल्याउने एमाले प्रयासलाई असफल बनाइयो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० माघ, १४ गते


Advertisement

काठमाडौं, माघ १४- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभा निर्वाचनका बेला सत्ता गठबन्धनमा रहेका दलहरूमा उलटफेर ल्याउने नेकपा (एमाले) को प्रयासलाई असफल बनाइएको बताएका छन् ।

सत्ता गठबन्धनभित्रै सहकार्य गरेर एमालेले एकीकृत समाजवादीलाई कमजोर बनाउने प्रयास गर्न खोजे पनि त्यसलाई कमजोर बनाइएको अध्यक्ष नेपालको भनाइ छ ।

आइतबार पार्टीको केन्द्रीय परिषद्को दोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सत्तारुढ दलहरू एकजुट भएर अघि बढ्दा पनि कोशी प्रदेशमा सत्तारुढ दलकै भोट क्रस भएर एमालेले एक सिट जितेको बताए ।

त्यो विषय अहिले सत्तारुढ दलभित्र र बाहिर पनि छलफलको विषय बनेको उनको भनाइ छ ।

‘राष्ट्रिय सभाको निर्वाचन यसै बीचमा यही माघ ११ गते सम्पन्न भएको छ । १९ पदमा भएको निर्वाचनमा सत्तारुढ दलको गठबन्धनले आपसी समझदारीमा भागबण्डा गरे तर कोशीमा महिला कलष्टरमा गठबन्धनको भोट क्रस भएर सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) की प्रतिनिधिलाई हराउँदै एमालेकी प्रतिनिधि निर्वाचित भएको स्थिति छ,’ उनले भने ।

एमालेले गठबन्धनमा रहेका दलहरुसँग सहकार्य गर्ने र गठबन्धनलाई कमजोर बनाउने नीति लिएको उनको भनाइ छ ।

राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनसँग सहकार्यका लागि एमालेले वार्ता, छलफल र संवाद गरेको पनि उनले बताए ।

‘वास्तवमा यो सबै भनेको हाम्रो पार्टीको विरूद्धमा नै लक्षित थियो । यस अर्थमा पनि त्यो सहमति सफल हुन सकेन । सत्तारुढ दलहरु एकजुट भएर उभिइसकेपछि एमालेको हामीलाई कमजोर बनाउने प्रयत्न असफल भयो,’ उनले भने, ‘यस्तो अवस्थामा एमालेले राप्रपासँग गठबन्धन गर्न पुग्यो । यस स्थितिमा कोशी प्रदेशमा एक सिट जितेर यो निर्वाचनमा एमाले शून्य हुनबाट जोगिएको छ ।’

राष्ट्रिय सभाको निर्वाचनको परिणामले सत्ता गठबन्धनमा उलटफेर हुने अवस्था नरहे पनि भोट क्रसिङको विषयले गठबन्धनका दलहरु मात्रै होइन हरेक दलभित्र यो छलफलको विषय बन्न पुगेको उनले बताए ।


प्रतिकृया दिनुहोस्