काठमाडौं, मंसिर १५- नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा उच्च अदालत पाटनबाट शुक्रबार आदेश आउने भएको छ ।
मुद्दामा परेको पुनरावलोकन निवेदनमाथि सुनुवाइ बिहीबार सकिएको हो । अदालतका उपरजिष्ट्रार तीर्थराज भट्टराईले बिहीबार बहस सकिए पनि मुद्दा ‘हेर्दाहेर्दैमा’ राखिएको र शुक्रबार आदेश आउने जानकारी दिए।
न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा मंसिर ५ गतेदेखि निरन्तर थालिएको सुनुवाइ बिहीबार सकिएको हो । बिहीबार प्रतिवादीतर्फका कानून व्यवसायीले जवाफी बहस सकेका हुन् ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान खोजेको आरोपमा २० जनाविरुद्ध मुद्दा चलिरहेको छ । जसमध्ये १७ जना थुनामा छन् भने ३ जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाडेको थियो ।
धरौटीमा छाडिएकामध्ये दुईजनाविरुद्ध सरकारी वकिल कार्यालयले पनि पुनरावेदन निवेदन दिएको छ ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर २८ करोड रुपैयाँभन्दा बढी ठगी गरेको प्रकरणमा जिल्ला अदालत काठमाडौंले पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलगायतलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
उनीहरूविरुद्ध ठगी, संगठित अपराध, राज्यविरुद्धको कसुर, लिखत सम्बन्धी किर्ते र एकीकृत कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा विचाराधीन छ ।