काठमाडौं, कात्तिक १९- गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद (एनआरएन) कुवेतले भूकम्पबाट पीडितहरुका लागि एक लाख ५१ हजार आर्थिक सहयोग घोषणा गरेको छ ।
एनआरएन कुवेतले जाजरकोट, रुकुम लगायत पश्चिमि क्षेत्रमा ठुलो मानविय तथा भौतिक क्षति भएकोमा दुख व्यक्त गर्दै पहिलो चरणमा ‘एनआरएन इमर्जेन्सी फण्ड’ मार्फत उक्त सहयोग रकम घोषणा गरेको महासचिव मनिश केसीले हाम्रोसंचारलाई जानकारी दिए ।
साथै एनआरएन कुवेतले सयौंको मृत्यु, सयौं घाइते र भौतिक संरचना घरहरु भत्किएकोमा दुख व्यक्त गर्दै घाइतेको तत्काल उपचार व्यवस्थापन गर्न सरोकारवाला निकायलाई अनुरोध गरेको छ ।
यस्तै एनआरएन कुवेतले भुकम्प प्रभावित क्षेत्रमा प्रभावकारी राहत तथा उद्दारका लागी आर्थिक सहयोग संकलनका लागी अध्यक्ष रणध्वज लामाको संयोजकत्वमा समिति गठन गरेको छ । सहयोग संकलन समितिले कुवेतमा रहेका सम्पुर्ण संघ संस्था, बुद्दिजिवि, खेलाडि, पत्रकार तथा समाजसेवीहरुलाइ सहयोगको लागि हार्दिक अपिलसमेत गरेको छ ।
समितिकाअनुसार आजदेखि ३ दिनसम्म आर्थिक संकलन परिचालन गरिने छ ।
शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा मृत्यु हुनेको संख्या १५७ पुगेको छ । भने घाइते हुनेहरूको सङ्ख्या बढेर २ सय ५३ पुगेको छ । घाइतेहरूमा जाजरकोटका १ सय १२ जना, रुकुम पश्चिमका १३२ जना, जुम्लाका ५ जना तथा दैलेख र सल्यानका दुई दुई जना रहेका छन् ।मृत्यु हुनेमा जाजरकोटका १०५ तथा रुकुम पश्चिमका ५२ जना रहेका छन् ।