एजेन्सी, असोज ७- पश्चिम अफ्रिकी मुलुक बेनिनको दक्षिणपूर्वस्थित एक पसलमा आगलागी हुँदा एक बालकसहित ३५ जनाको मृत्यु भएको छ ।
आगलागीमा परी केही मानिस घाइते भएका छन्। घाइतेलाई उपचारको लागि अस्तपताल भर्ना गरिएको छ । स्थानीय समयअनुसार शनिबार राति साढे ९ बजे नाइजेरियाको सीमा नजिकैको सेमकेपोडजी नगरमा आगलागी भएको हो ।
सरकारी अधिकारीले इन्धन अनलोड गर्ने क्रममा एउटा पसलमा आगलागी भएको जानकारी दिएका छन् । बेनिनको अनौपचारिक अर्थतन्त्र नाइजेरियाको कालो बजारमा भित्रने इन्धनमा परनिर्भर रहेको छ। नाइजेरिया र छिमेकी देशहरुमा गैरकानुनी ढंगबाट इन्धनको ओसारपसार हुने गरेको छ। यहाँको पाइपलाइन, इन्धन डिपो भण्डार र प्रशोधन अव्यवस्थित रहेको जनाइएको छ ।
यसरी आपूर्ति हुने इन्धनमा छुट दिइने भएकाले सस्तो मूल्य पर्ने गर्दछ । गत मे महिनामा नाइजेरियामा बोला अहमद तिनुबु राष्ट्रपति निर्वाचित भएपछि तेलको मूल्यमा दिँदै आएको सहुलियत हटाएकाले महंगिएको छ । जसका कारण कालो बजारी मौलाएको जनाइएको छ ।