
काठमाडौं, भदौ ७- अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई गृह मन्त्रालय तानिएको छ । ६० किलो सुन तस्करीका मुख्य योजनाकारमध्येका एक दावा छिरिङसँग कनेक्सन देखिएपछि सत्यतथ्य बुझ्नका लागि मन्त्रालय तानिएको गृह मन्त्रालय स्रोतको भनाइ छ ।
अधिकारीले सुन प्रकरणमा मुछिएका बेल्जियन नागरिक छिरिङसँग म्यासेजमार्फत् संवाद गरेको भन्दै सार्वजनिक रूपमा प्रश्न उठेको थियो ।
अधिकारी र दावा छिरिङबीच विच्याटमा कुराकानी भएको र त्यस कुराकानीमा विभिन्न डिलहरु भएको तथ्यहरु फेला परेको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गरिरहेको सुनको अनुसन्धानमा तस्करीका नाइके दावा छिरिङ र गृह मन्त्रालयको सबैभन्दा महत्वपूर्ण र संवेदनशील मानिने अध्यागमन विभागका महानिर्देशक अधिकारीबीच सुन तस्करीको पूर्वसूचना आदान–प्रदान र रकम लेनदेनमा व्यापक कुराकानी र संवाद भएको प्रमाण फेला परेको हो ।
गत साउन २ गते अध्यागमन विभागबाट उम्किएको ६० किलो सुन राजश्व अनुसन्धान विभागले विमानस्थलको गेट नजिकैबाट बरामद गरेको थियो ।
अधिकारी गत फागुनमा अध्यागमन विभागका महानिर्देशक बनेका थिए ।


















