Skip

Hamro Sanchar

कोशी प्रदेशमा मुख्यमन्त्रीको कार्यालयले दिएन कार्कीलाई गाडी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, १२ गते


विराटनगर, साउन १२- कोशी प्रदेशको कामचलाउ मुख्यमन्त्री भएको दाबी गर्दै विराटनगर आएका एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्रीको कार्यालयले बेवास्ता गरेको छ ।

सचिवालयमार्फत् कार्कीले गाडी मागे पनि प्रमुख सचिव डा. दीपक काफ्लेले गाडी पठाउन अस्विकार गरेका छन् । कार्की साढे ९ बजे विराटनगर विमानस्थलमा आएका थिए । मुख्यमन्त्रीले प्रयोग गर्ने गाडी भने निवासमै छ । उनको स्वागतमा कर्मचारी समेत कोही गएनन् । उनलाई सुरक्षाकर्मी पनि पठाइएको छैन ।

प्रमुख सचिव काफ्ले प्रदेश प्रमुख परशुराम खापुङसँग छलफलमा रहेका छन् । मुख्यमन्त्रीको कार्यालयले गाडी नपठाएपछि को १ झ ६५२ नम्बरको गाडीमा कार्की डेरातिर लागेका छन् । कार्कीले सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीलाई पनि साथमै लिएर आएका थिए ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै कार्कीले आफू कार्यालयमा नजाने बताए । सरकारका काममा केही अप्ठ्यारो भए मात्रै कार्यालय जाने अधिकार प्राप्त भएकाले मुख्यमन्त्री कार्यालयमै गएर दिनभरी नबस्ने उनले बताए । ​ घरबाटै काम गर्ने उनले बताए ।

उनले प्रदेश प्रमुख खापुङ र सभामुख बाबुराम गौतमको राजीनामा नमाग्ने समेत बताएका छन् । कहिले कहीँ जानी नजानी संस्था तथा व्याक्तिले गल्ती गर्छ । त्यो गल्तीलाई सर्वोच्च अदालतले सच्चाइदिएको छ,उनले भने, अहिले राजीनामा माग्ने पक्षमा छैन । अब उहाँहरूले यस्तो गर्नुहुन्न जस्तो लागेको छ ।

प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव नरेन्द्र कुमार श्रेष्ठले भने कामचलाउ मुख्यमन्त्री प्रदेश प्रमुखले तोक्ने प्रचलन रहेको बताए । प्रदेश प्रमुखको कार्यालयले कुनै निर्णय गरिसकेको छैन । मुख्यमन्त्री कार्यालयको बोर्ड र वेबसाइटमा थापाकै नाम मुख्यमन्त्रीमा कायम रहेको छ । कार्कीसँगै उनको सरकारमा मन्त्री रहेकाहरूले पनि आजै मन्त्रालय जाने बताएका थिए ।

कार्कीसँगै विराटनगरमा आएका तत्कालीन सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले कोठामै बसेर काम गर्ने बताएका छन् । उनले बिहान भने दिउँसो मन्त्रालय जाने बताएका थिए ।


प्रतिकृया दिनुहोस्