Hamro Sanchar

अन्तर्जातीय विवाहको निहुँमा घरमा आगजनी गर्नेलाई कारबाही गर्न शिल्पी संघ कुवेतको माग

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असार, २० गते


काठमाडौं, असार २०- शिल्पी संघ नेपाल, कुवेतले जुम्लामा अन्तर्जातीय विवाह गरेपछि केटी पक्षले केटापक्षको घरमा आगजनी गरेकाे घटनाप्रति गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ ।

संघका अध्यक्ष ज्ञान बहादुर गजमेर र महासचिव सुरेश कालिकोटेले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै जुम्लाकाे तातोपानी गाउँपालिका-४ गिडीखोलामा अन्तरजातिय प्रेम विवाह गरेको कारण मुकुन्द नेपालीको घरमा आगजनी गरेको घटनाकाे घाेर भर्त्सना गरेका हुन् ।

सामाजिक सद्‍भाव र एकतामा खलल् पुग्ने यस्ता अराजक गतिविधिमा संलग्नहरुलाई कडा कानुनी कारबाही गर्न र उक्त घटनाका पीडितलाई केटीपक्षबाट तत्काल क्षतिपूर्तिको व्यवस्था गर्न शिल्पी संघ कुवेतले सरकारसँग माग गरेकाे छ । साथै संघले अपराधीलाई राज्यको प्रचलित कानुन बमोजिम कठोरभन्दा कठोर सजाय दिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएको छ ।

नेपाली समाजमा व्याप्त कुरिति, कुसंस्कार, छुवाछुत र जातिय भेदभावले २१औं शताब्दीमा मानव सभ्यताको नै खिल्ली उडाएको संघको ठहर छ ।

पीडितले उचित न्याय नपाएको खण्डमा त्यसबाट उत्पन्न हुने परिस्थतिको जिम्मेवार नेपाल सरकार नै हुने शिल्पी संघ कुवेतले चेतावनीसमेत दिएको छ ।

दलितले आफ्नी बहिनीलाई प्रेमबिहे गरेको निहुँमा आइतबार बिहान जुम्लाको तातोपानी–४ गिडीखोलामा २१ वर्षीय मुकुन्द नेपालीको घरमा किशोरीका दाजु हिक्मत गिरीले आगो लगाइदिएका थिए । बिहान ४ बजेतिर भएको आगजनीमा घर र त्यसभित्र रहेका सामान नष्ट भएका छन् ।

आगजनी गरेको आरोपमा आइतबार स्थानीय २१ वर्षीय २२ वर्षीय हिक्मत गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।

स्थानीयका अनुसार ती दुवै जनाले २ वर्षको प्रेमपछि अन्तरजातीय ‘विवाह’ गरेका हुन् ।

मुकुन्द र उनीसँग विवाह गरेकी नाबालिग किशोरी सम्पर्कबिहीन रहेका पनि प्रहरीले जनाएकाे छ ।


प्रतिकृया दिनुहोस्