Hamro Sanchar

बागमती पुलदेखि मुलपानी तिवारी टोलसम्मको सडक कालोपत्रे गर्न सुरु, आन्दोलनका कार्यक्रम फिर्ता

प्रदिप नेपाली प्रकाशित : २०८० जेठ, २३ गते


काठमाडौं, जेठ १९- ठेकेदारको लापरवाहीका कारण वर्षौंदेखि अलपत्र रहेको जोरपाटी-साँखु सडकखण्ड अन्तर्गतको बागमती पुलदेखि मुलपानी तिवारी टोलसम्मको सडक कालोपत्रे गर्न सुरु गरिएको छ । स्थानीयको निरन्तर दबाब र बिरोधपछि सडकखण्डको बाँकी करिब १ किलोमिटर सडक कालोपत्रे गर्न सुरु गरिएको हो ।

स्थानीयले तत्काल सडक निर्माण सम्पन्नको माग गर्दै गत बुधबारदेखि बाग्मती पुलदेखि दक्षिण ढोकासम्मको सडक अवरोध गर्दै आएका थिए ।

उनीहरुले निर्माण सामग्री नझारेसम्म सडक नखोल्ने अडान लिएका थिए । तर सोमबार राती ११ बजेबाट कालोपत्रे गर्न सुरु गरिएको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-६ वडाअध्यक्ष प्रकाश फुयालले हाम्रोसंचारलाई जानकारी दिए । सडकको काम छिटो सम्पन्न गर्न निरन्तर पहल गरिरहेका वडाअध्यक्ष फुयाल आफु राती साढे १० बजे नै गोकर्णेश्वर नगरपालिका वडा नम्बर ७ मा पुगेको बताए ।

सडकखण्डको निर्माण सम्पन्न हुन बाँकी बागमती पुलदेखि दक्षिणढोका अनि मुलपानीको नोर्लिङ होटलदेखि तिवारी टोलसम्मको सडक कालोपत्रे गर्न सुरु गरिएको हो ।

वर्षौंदेखि हिउँदमा धुलो र बर्षायाममा हिलोबाट आजित त्यस क्षेत्रका बासिन्दाले कालोपत्रे गर्न सुरु भएसँगै राहत महसुस गरेका छन् । भने आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । यद्यपि कालोपत्रे गर्ने काम सम्पन्न नहुन्जेलसम्म सवारी आवतजावत भने बन्द हुने बताइएको छ ।

चाबहिल–जोरपाटी–साँखु सडक विस्तारमा ढिलाइ हुँदा स्थानीय देखि यात्रुले सास्ती खेप्दै आएका थिए । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले २०७२ सालमै १२ किमि सडकलाई २२ मिटर फराकिलो बनाउने उद्देश्यले विस्तारको काम थालेको थियो । तर, अहिलेसम्म पनि सडक विस्तारको काम सम्पन्न हुन सकेको छैन ।

सडक विस्तारमा भइरहेको ढिलाइले काठमाडौंको पूर्वी क्षेत्रको मुख्य यो सडक घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे बन्ने गर्छ ।

उक्त सडक विस्तार गर्न एक अर्ब ७३ करोड ५४ लाख रुपैयाँको ठेक्का लगाइएको थियो ।

साढे दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी चाबहिल–साँखु सडकखण्ड विस्तार प्रक्रिया अघि बढाइएको थियो ।


प्रतिकृया दिनुहोस्