
काठमाडौं, जेठ ५- काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले विकास निर्माणमा छुट्टाएको ठूलो रकम जनप्रतिनिधि र कर्मचारीको लागि मदिरा र मासुभातमा खर्च गरेको समाचार प्रकाशन भएपछि माओवादी केन्द्र गोकर्नेश्वोर नगर समितिले ज्ञापन पत्र बुझाएको छ ।
माओवादी केन्द्र गोकर्नेश्वोर नगर समितिले बिहिबार नगरप्रमुख दिपक कुमार रिसाललाई उनकै कार्यकक्षमा पुगेर ज्ञापन पत्र बुझाएको हो ।
नेकपा माओवादी केन्द्र गोकर्नेश्वोर नगर समितिका अध्यक्ष मान बहादुर तामाङद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, “गोकर्नेश्वोर नगरपालिकाका नगरवासीहरुले खुन र पसिनाबाट जम्मा गरेको करलाई जनताको शिर झुक्ने झुकाउने गरि कार्यक्रम संचालन गरेको लजास्पद समाचार सामाजिक संजालमा आएका छन् , यस वर्तमान परिवेशमा उक्त समाचार प्रति र विगतदेखिका वडा, नगरपालिकाले गरेका सम्पूर्ण भ्रस्टाचार तथा अनियमितता प्रति खेद व्यक्त गर्दै विगतदेखि हालसम्मका सबै आर्थिक गतिविधिको हर हिसाब जनताले किन न खोज्ने ? हाम्रो पार्टी नेकपा माओबादी केन्द्र गोकर्नेश्वोर नगरसमिति गत बैशाख २९ र ३० गतेको लजास्पद कार्यक्रमको यथाशिघ्र छानबिन समिति गठन गरि सत्य तथ्य नगरवासी जनसमुदायलाई सुसुचित गराउन जोडदार माग गर्दछौ ।”
पत्र बुझ्दै नगरप्रमुख रिसालले समाचार प्रति चासो राख्दै ज्ञापन पत्र लिएर बुझाउन आउनु भएकोमा नेकपा माओवादी केन्द्र गोकर्नेश्वोर नगर समितिलाई धन्यवाद दिए । उनले सामाजिक संजाल लगाएत अन्य विभिन्न संचार माध्यममा आएका समाचार प्रति नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको भन्दै समाचारमा सत्यता नभएको बताएका छन् । उनले उक्त कार्यक्रमको सम्पूर्ण हिसाबकिताब नगरवासी समक्ष प्रस्तुत गर्ने समेत बताएका छन् ।




















