पर्वत । घर वरिपरि मौरीका घारैघार । घरअघि ठूलो सुन्तलाको बगैँचा छ । बिहानै उठेदेखि साँझ नपरुन्जेल तीनै मौरीका घारको हेरचाह गर्ने मोदी–२ देउपुरस्थित कोरुङ्गाका टीकाराम तिमिल्सिनाको दिनचर्या हो । परिश्रम र मेहेनत गर्ने हो भने गाउँमै बसेर पनि लाखौँ रुपैयाँ आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण उनले देखाएका छन् । विगत दुई दशकदेखि व्यावसायिकरूपमा मौरीपालन व्यावसाय गर्दै आएका कृषक तिमिल्सिनाले मह उत्पादन गरेर वार्षिक रु ३५ लाखसम्म आम्दानी गर्दै आएका छन् । उनको घरमा अहिले एक सयभन्दा बढी मौरीका घार छन् भने ‘सिजन’मा यसको सङ्ख्या अझै थपिने गर्दछ ।
उनले ‘एपि सेरेना’ जातको मौरी पालनबाट मनग्य कमाइ गर्न सफल भएको बताए । सुरुका केही वर्ष चिसोका कारण ५० प्रतिशत घाटा व्यहोरेका किसान तिमिल्सिनाले पछिल्ला वर्ष सोचेजति नै आम्दानी हुने गरेको जानकारी दिए । उनले वर्षमा दुईपटक मह निकाल्ने गरेका छन् । विसं २०५७ बाट व्यावसायिक माहुरीपालन गर्न थालेका कृषक तिमिल्सिनाको मुख्य आम्दानी यही नै हो । उनले उत्पादन गरेको मह धेरै मात्रामा घरबाटै बिक्री हुने गरेको छ भने काठमाडौँ, चितवन, बुटवललगायत बजारमा ब्रान्ड बनिसकेको छ । तिमिल्सिना जिल्लाकै नमूना मौरीपालक किसान हुन् ।
विभिन्न संस्थाको सहयोगमा तालिम लिएपछि तिमिल्सिना मौरीपालनमा हौसिएका थिए। उनले महमात्र बिक्री गर्दैनन् मौरीको घार र गोलासमेत बिक्री गर्ने गर्छन् । मौरीपालनमा अन्य पेसा व्यवसायजस्तो एकैपटकमा लाखौँ लगानी गर्न नपर्ने तर आम्दानी उल्लेख्य हुने यस व्यवसायमा लागेकाहरू बताउँछन् ।
तरकारी खेती, पशुपक्षी तथा कुखुरापालनमा जस्तो निरन्तर खट्नुपनि नपर्ने भएकाले मौरीपालनमा किसानको आकर्षण बढेको अर्का अगुवा कृषक उमाकान्त शर्माले बताए । उनका अनुसार अहिले जिल्लाका देउपुर, मल्लाज, भङ्गरा, कुर्घा, ठानामौला, पाङराङ, बाच्छा, लुङ्खुलगायत व्यावसायिक मौरीपालक किसानले बर्सेनि सय बढी मौरीसहितका घार उत्पादन गरेर बिक्री गर्दै आएका छन् । सोही अनुपातमा महसमेत उत्पादन भइरहेको छ ।