धनगढी । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले सरकारमा सहभागी हुने विषयमा छलफल गर्न पार्टीका शीर्ष नेताहरुलाई कारागार बोलाएका छन् । चौधरीले सोमबार पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसहितका शीर्ष नेताहरूलाई डिल्लीबजारस्थित कारागारमा छलफलका लागि बोलाएका हुन् ।
आइतबार मात्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा भएको सात दलीय छलफलमा रेशम संस्थापक रहेको उन्मुक्ति पार्टी पनि सहभागी थियो । उक्त छलफलपछि सरकारमा सहभागी हुन सहमति दिएको उन्मुक्ति पार्टीले प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई समर्थन गरेको छ।
पार्टीका प्रवक्ता दामोदर पण्डितले संघीय सरकार र प्रदेश सरकारमा पार्टीको सहभागिताका विषयमा छलफल गर्न आफूहरू डिल्लीबजार कारागार गइरहेको पुष्टि गरेका छन् । रेशम चौधरीलगायत टीकापुर घटनाका बन्दीहरुको रिहाइको मुद्दालाई प्रमुख एजेन्डा बनाएको उन्मुक्ति पार्टीले पहिलेदेखि सरकारसँग मुख्य तीन माग राख्दै आएको छ । रेशम चौधरीलगायतका बन्दीको रिहाइ, झुठा मुद्दा खारेज तथा टीकापुर घटनापछि गिरिशचन्द्रलाल नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने मागहरु राख्दै आएको हो ।
नयाँ समीकरणमा पनि यिनै मागलाई उन्मुक्ति पार्टीले अघि सारेको छ । उक्त पार्टीले प्रतिनिधि सभामा ३ सिट जितेको छ । सुदूरपश्चिम प्रदेश सभामा समानुपातिकसहित ७ सांसद र लुम्बिनी प्रदेशमा चार जना सांसदको प्रतिनिधित्व छ ।