काठमाडौं, पुस ६- नेपाली कांग्रेसको संसदीय दलको नेता छान्न भएको मतदान सकिएको छ ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बिहान ८ बजेबाट सुरू हुने भनिएको मतदान केहीबेर ढिला सुरू भएको थियो। झन्डै २ घन्टापछि मतदान सकिएको हो ।
अब केहीबेरमा मतगणना सुरू हुनेछ । कांग्रेस संसदीय दलको नेता छान्न ८९ जना सांसदले मतदान गरेका छन् ।
८९ सांसदमध्ये ८८ जनाले सिंहदरबारस्थित मतदान केन्द्रमै मत खसालेका थिए । भोजपुरकी सांसद माया राईलाई मतदान गराउन भने प्रतिनिधिहरू अस्पतालमै पुगेका थिए ।
उनी सुत्केरी भएकाले ओम अस्पतालमा छिन् । उनलाई अस्पतालबाटै मतदान गराउन समिति सदस्यहरु मतपत्र लिएर पुगेका थिए ।
संसदीय दलको नेताका लागि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा छन् ।
दलको नेता चुनिन ५० प्रतिशत मत कटाउनुपर्ने हुन्छ । यसअनुसार दलको नेता बन्न ४५ सांसदको समर्थन जुटाउनुपर्ने देखिन्छ ।