काठमाडौं । आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । तोलाको १ लाख १ हजार रुपैयाँसम्म पुगेको सुनको मूल्य आज १ लाख मुनि ओर्लिएको छ । अघिल्लो कारोबार दिन प्रतितोला सात सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला चार सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ९९ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको थियो । बिहीबारको तुलनामा आज चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा नै सुन–चाँदीको मूल्य घटेकाले नेपालमा पनि सुन–चाँदीको मूल्य घटेको हो ।