Hamro Sanchar

लुम्बिनीको मुख्यमन्त्री कार्यालय मध्यराति बुटवलबाट दाङ सारियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ मंसिर, २० गते


Advertisement

दाङ । लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय बुटवलबाट दाङमा सारिएको छ । अस्थायी राजधानी बुटवलबाट मुख्यमन्त्री कार्यालयका सामग्रीहरू स्थायी राजधानी तोकिएको क्षेत्र दाङमा सारिएको हो । मुख्यमन्त्रीको कार्यालय र मुख्य सचिव कार्यालयका सबै सामग्रीहरू गएराति दाङ लगिएको हो ।

कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने फर्निचरलगायत सामग्रीहरू ट्रकबाट ढुवानी गरी दाङ लगिएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नै कार्यकालमा दाङबाट मुख्यमन्त्री कार्यालय सञ्चालनमा ल्याउन पहल गरिरहेका छन् । लुम्बिनीको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) मा अब नयाँ प्रदेशसभा सदस्यको सपथ र सभा सञ्चालनको तयारी पनि गरिएको छ । त्यहाँ प्रदेश सभा भवन निर्माण कार्य पूरा भइसकेको छ।

स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) तोक्ने निर्णय गरे पनि पूर्वाधार अभावको कारण राजधानीको कामकाज अस्थायी मुकाम बुटवलबाटै हुँदै आएको थियो । प्रदेशसभा सदस्यको सपथ र सभा सञ्चालन स्थायी राजधानीमा निर्माण भएको प्रदेशसभा भवनबाट गर्ने योजना लुम्बिनी सरकारको छ ।
अब नयाँ बन्ने मुख्यमन्त्री र मन्त्रीहरुको पनि सपथग्रहण स्थायी राजधानीमै गर्ने तयारी थालिएको छ । अब नयाँ बन्ने मुख्यमन्त्री र मन्त्रीहरुको सपथ, प्रदेशसभा भवनमा सदन सञ्चालन गर्ने जिम्मेवारी प्रदेश सरकारको भएको स्वास्थ्य मन्त्री इन्द्रजीत थारुले बताएका छन् ।

प्रदेश सभाको दुई तिहाइ मतले निर्णय गरेको विषय आफूहरुले कार्यान्वयन मात्रै गर्न लागेको उनले बताए । दाङमा यसअघि नै दुई मन्त्रालय आइसकेका थिए । तर काम भने बुटवलबाट हुँदै आएको थियो ।


प्रतिकृया दिनुहोस्