काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मिलेपछि विकास निर्माणलगायत काम गर्न सकिने बताएका छन् ।
गोरखाको चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासस्थित फिलिममा आज सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले उत्तरी गोरखाको विकासका काम प्राथमिकतामा रहेको बताएका हुन् । उनले सत्ता गठबन्धनका उम्मेदवारलाई मंसिर ४ को चुनावमा मत दिएर जिताउन पनि आग्रह गरेका थिए।
‘गोरखा १ को प्रतिनिधि सभामा कांग्रेसका नेता राजेन्द्र बजगाईं र प्रदेश सभा ९ख० मा कांग्रेसकै नेता नन्दप्रसाद न्यौपानेलाई जिताउन म आग्रह गर्दछु,’ प्रचण्डले भने, ‘बजगाईंलाई केन्द्रमा र न्यौपानेलाई प्रदेशमा मन्त्री बनाउन म पहल गर्छु।’उनले आफू र देउवाबीच कुराकानी भएपछि केन्द्र र प्रदेशमा गोरखाका सांसदलाई मन्त्री बनाउन सकिने बताएका थिए ।
‘राजेन्द्रलाई केन्द्रमा र नन्दुलाई प्रदेशमा मन्त्री बनाएर विकास निर्माणको काम गर्न जिम्मेवारी दिइनेछ,’ प्रचण्डले भने, ‘उहाँहरूलाई मन्त्री बनाउन म देउवासँग प्रस्ताव राख्छु । अहिले नेपालमा प्रचण्ड र देउवा मिलेपछि नहुने केही छैन ।’ आज प्रचण्डले चुमनुब्रीका छेकम्पार, सामागाउँ र सिर्दिवासका चुनावी सभालाई सम्बोधन गरेका थिए ।