काठमाडौं । चिनियाँ उपविदेशमन्त्री ली चुन नेपाल भ्रमणमा आउँदै छन् । राष्ट्रिय साँस्कृतिक सम्पदा प्रशासनका निर्देशकसमेत रहेका संस्कृति तथा पर्यटन उपविदेशमन्त्री ली चुन ५ दिने नेपाल भ्रमणका लागि शुक्रबार आज नेपाल आउन लागेका हुन् । चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार उपमन्त्री ली भूकम्पपछि चिनियाँ सहयोगमा पुनर्निर्माण भइरहेका सम्पदाको निरीक्षण गर्नका लागि आउन लागेका हुन् ।
यद्यपि नेपाली पक्षबाट भने उनको भ्रमणका बारेमा औपचारिक जानकारी गराइएको छैन । परराष्ट्र मन्त्रालयका अनुसार उनी शुक्रबार आइपुग्ने पुष्टि गरेको छ । २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएका वसन्तपुर दरबार क्षेत्रलगायतका सम्पदा चीन सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको छ ।
परराष्ट्र मन्त्रालयले चिनियाँ दूतावासलाई उपमन्त्री लीको भ्रमण चुनावपछि गराउन सुझाव दिए पनि चिनियाँ पक्षले निजी भ्रमण साँस्कृतिक सम्पदाको निरीक्षणमा केन्द्रित हुने भन्दै भ्रमण तय गरेको हो ।