काठमाडौं, असोज ३- सरकारले खाने तेल आयातमा भन्सार शुल्क घटाए पछि खाने तेलको मूल्यमा ठूलो गिरावट आएको छ । तेलका होलसेल व्यापारीका अुनसार एक महिनाको तुलनामा तेलको मूल्य लिटरमै ५० रुपैयाँसम्मले घटेको छ । सूर्यमुखी, भटमास र तोरीको तेलको मूल्यमा ठूलो गिरावट आएको टोखा चेम्बर अफ कमर्शका अध्यक्ष सञ्जय फुँयालले बताए ।
‘सरकारले तेलको कच्चा पदार्थ आयातमा भन्सार महसुल घटाउने निर्णय गरेपछि बजारमा तेलको मूल्य घटेको छ,’ फुँयालले भने, ‘लिटरमा कम्तीमा २० देखि बढीमा ५० रुपैयाँसम्म तेलको मूल्य घटेको छ ।’ अमृत, डाइमण्ड लगायतका ब्राण्डका तेलको मूल्य घटेको फुँयालले बताए । एक महिना अघि प्रतिलिटर २९५ रुपैयाँ रहेको सूर्यमुखी तेलको मूल्य थोकमा २४५ रुपैयाँमा झरेको छ । २८० रुपैयाँ रहेको तोरीको तेलको मूल्य २५० रुपैयाँमा झरेको छ । यस्तै २९३ रुपैयाँ पर्ने भटमासको तेलको मूल्य न्यूनतम् २१८ रुपैयाँसम्म झरेको छ ।
नेपाल वनस्पति घ्यु तेल उत्पादक संघका अनुसार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा आएको गिरावटका कारण खाने तलेको मूल्यमा उच्च गिरावट देखिन थालेको छ । संघका अध्यक्ष सन्दीप अग्रवालकाअनुसार जेठयता मात्रै खाने तेलको मूल्य लिटरमा ७० रुपैयाँसम्मले घटेको छ । तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमै घटेका कारण नेपाली बजार पनि घटेको अध्यक्ष अग्रवालले बताए ।