काठमाडौँ, भदौ २- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी तथा निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन कम्पनीले बालाजु–ककनी सडक खण्ड आठ वर्षमा पनि नबनाएपछि ठेक्का सम्झौता रद्द हुने भएको छ ।
जिल्ला अदालत ललितपुरले शैलुङसँगको ठेक्का रद्द गर्ने सरकारको निर्णय अन्तरिम आदेशबाट रोकेको थियो ।
मंगलबार भने जिल्ला अदालत ललितपुरकी न्यायाधीश सीता शर्मा अधिकारीको इजलासले उक्त आदेशलाई निरन्तरता नदिने भनेर अर्को आदेश गरेको छ ।
पछिल्लो आदेशसँगै सरकारले गरेको ठेक्का रद्दको निर्णय कार्यान्वयन गर्न बाटो खुलेको छ ।
सरकारले गएको चैतमा ठेक्का रद्द गर्ने निर्णय गरेपछि शैलुङ कन्स्ट्रक्सन कम्पनीले जिल्ला अदालत ललितपुरमा रिट दर्ता गरेको थियो ।
आठ वर्षअघि सन् २०१४ जुनमा शैलुङ र अर्को कम्पनीको जोइन्ट भेन्चरलाई सडक विभागले बालाजु–ककनी सडक खण्ड बनाउन ठेक्का दिएको थियो। दुई वर्षभित्र बनाइसक्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख थियो ।
शैलुङले सम्झौताअनुसार बाटो बनाइसक्नुपर्ने अवधिसम्म जम्मा ३९ प्रतिशत काम सकेको थियो । त्यसपछि सातपटकसम्म अवधि बढाइएको थियो । अहिलेसम्म उक्त सडक खण्डको ५८ काम मात्र सकिएको छ ।