काठमाडौं, भदौ १– काठमाडौं उपत्यकाकाे फाेहर बञ्चरेडाँडामा फाल्ने क्रममा भइरहेकाे अवराेध हटाउन आज बुधवार बेलुकी तीन बुँदे सहमति भएकाे छ ।
काठमाडौं उपत्यकाको फोहर बञ्चरेडाँडामा लैजाँदा उत्पन्न समस्याबारेमा छलफल गर्न बसेकाे काठमाडौं, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारी तथा सम्बन्धित पालिकाका पदाधिकारीको बैठकले तीन बुँदे सहमति गरेकाे हाे ।
फोहर बाेकेर आएकाे गाडीले बाटोमा लिचेड चुहाउन नपाउने, जथाभाबी फाेहर फाल्न नपाउने, बञ्चरेडाँडामा फोहर थुपार्ने ठाउँमा गन्ध नआउने औषधि छर्किनुपर्ने र गएकाे जेठ २६ गते भएकाे सहमति कार्यान्वयन गर्दै जाने सहमति भएकाे छ ।
बैठकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल र धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल सहभागी थिए । यस्तै छलफलमा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, धुनीबेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्यलगायत जनप्रतिनिधि तथा केही स्थानीयवासी पनि सहभागी थिए ।