उदयपुर, साउन ३१- उदयपुरमा मंगलबार बिहान टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी नगरपालिका-८ कुरी भन्ज्याङमा बिहान १० बजे दुर्घटना हुँदा कटारी ८ पाखाटोलका ४५ वर्षीय नरबहादुर मगर र सोही ठाँउका ४० वर्षीय मिर्चिङ कान्छा मगरको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा एक जना घाइते भएका छन् ।
कटारी बजारबाट घुर्मीतर्फ हिडेको बा ४ ख ५६७१ नं. को सिमेन्ट बोकेको टिपर विपरीत दिसाबाट आउँदै गरेको अर्को सवारी साधनलाई साइड दिने क्रममा अनियन्त्रित भइ सडकबाट ५० मिटर तल खसेर दुर्घटनामा परेको हो । दुर्घटनामा परी अर्का यात्रु कटारी ८ कै ४० वर्षीय चन्द्रबहादुर मगर गम्भीर घाइते भएका छन् ।
घाइते मगरको कटारी अस्पतालमा उपचार भइरहेको र थप उपचारका लागि बाहिर पठाउने तयारी भइरहेको । नाम ठेगाना नखुलेका टिपर चालक घटनालगत्तै फरार भएकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनाबारे विस्तृत अनुसन्धान सुरु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।