काठमाडौं, साउन १२- राष्ट्रिय सभाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरेको छ । बिहीवार बसेको राष्ट्रिय सभाको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ बहुमतले पारित गरेको हो ।
विधेयकमाथि बिहीवार नै दफाबार छलफल प्रारम्भ भएको थियो । छलफलपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयक बहुमतले पारित भएको घोषणा गरेका हुन् ।
त्यसैगरी बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त खानेपानी तथा सरसफाई विधेयक, २०७९ पनि पारित गरेको छ । राष्ट्रिय सभाको अर्को बैठक २०७९ साउन २३ गते सोमवारका लागि बोलाइएको छ ।