काठमाडौं । प्रधानमन्त्री बालेन शाह आगामी आइतबार भारतको दुईदिने राजकीय भ्रमणमा जाने भएका छन्।
परराष्ट्र मन्त्रालयले आज पत्रकार सम्मेलन गरी भ्रमणको औपचारिक कार्यक्रम सार्वजनिक गरेको हो।
मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह मंसिर ६ गते दिउँसो १ बजेर ४५ मिनेटमा नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत भारत प्रस्थान गर्नेछन्।
भ्रमणका क्रममा मंसिर ७ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रधानमन्त्री शाहको प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ।
उक्त वार्तामा दुई देशबीचको आर्थिक सम्बन्ध, सम्पर्क सञ्जाल विस्तार, ऊर्जा सहकार्य तथा विभिन्न विकास परियोजनाका विषयमा छलफल हुने जनाइएको छ।
भ्रमणका क्रममा केही सम्पन्न परियोजनाको उद्घाटन तथा नयाँ परियोजनाको शिलान्यास गर्ने तयारीसमेत रहेको छ।
प्रधानमन्त्रीको सरकारी भ्रमण टोली ३४ सदस्यीय हुनेछ। टोलीमा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ अधिकारी सहभागी हुनेछन्।
त्यस्तै, निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायी टोली आफ्नै खर्चमा भारत जानेछ। सञ्चारमाध्यमका पत्रकार पनि निजी खर्चमै भ्रमणमा सहभागी हुनेछन्।
दुईदिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह मंसिर ७ गते सोमबार साँझ ६ बजेर ३५ मिनेटमा स्वदेश फर्कने कार्यक्रम रहेको छ।

























