काठमाडौं । मलेसिया जाने नेपाली श्रमिकमाथि भएको ठगी प्रकरणको अनुसन्धान अब पूर्वमुख्यसचिवसम्म पुगेको छ।
जिल्ला अदालतले सीआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।
प्रहरीका अनुसार अर्याल फरार रहेको बताइएको छ। यो प्रकरणमा बुधबार मात्रै दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ परेका थिए।
पक्राउ पर्नेमा तत्कालीन श्रममन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय, मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका पूर्वप्रमुख उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ रहेका छन्।
यसअघि पनि सीआईबीले यही प्रकरणमा चार जनालाई पक्राउ गरिसकेको थियो। उनीहरू कैलाश खड्का, रवीन्द्र केसी, प्रवीण तिवारी र रामपुकार तिवारी हुन्।
मलेसिया रोजगारीमा जाने नेपाली श्रमिकलाई ठगी गरिएको प्रकरणमा अनुसन्धान अघि बढ्दै जाँदा पक्राउ पर्ने र अनुसन्धानको दायरामा आउने व्यक्तिको संख्या बढ्दै गएको छ ।

























