काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २२ करोड रुपैयाँ बराबरको सेतो हेरोइनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतको महाराष्ट्रका ५२ वर्षीय रेवाज तिघरी रहेका छन्। लागुऔषध नियन्त्रण ब्युरोका अनुसार उनी कात्तिक २८ गते थाइल्याण्डबाट काठमाडौं आएका बेला पक्राउ परेका हुन्।
प्रहरीले शंकास्पद यात्रुको प्रोफाइलिङ गर्ने क्रममा उनको गतिविधि निगरानीमा राखेको थियो। जाँचका क्रममा उनको साथबाट साढे ५ किलो सेतो हेरोइन बरामद भएको हो।
प्रहरीका अनुसार तिघरी यसअघि दुईपटक नेपाल आइसकेका थिए। उनले लाओस, जिम्बाबे, सुडान, बंगलादेश, भियतनाम र कम्बोडियासमेत भ्रमण गरेको खुलेको छ। उनको साथबाट मेकानिकल इन्जिनियरको प्रमाणपत्रसमेत फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले उनलाई अन्तर्राष्ट्रिय लागुऔषध तस्करी सञ्जालका मुख्य व्यक्तिमध्ये एक भएको बताएको छ। बरामद हेरोइन भारत पुर्याउने योजना रहेको प्रहरीको भनाइ छ।

























