काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जलवायुजन्य विपद्बाट प्रभावित नेपाललाई पुनर्निर्माण र आर्थिक पुनरुत्थानका लागि विशेष अन्तर्राष्ट्रिय वित्तीय प्याकेज आवश्यक रहेको बताएका छन्।
टर्किएको अन्ताल्यामा जारी कोप–३१ सम्मेलनअन्तर्गत नेपाल पेभिलियनमा आयोजित छलफलमा उनले अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको सहयोग उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरे।
वाग्लेले विपद्पछिको उद्धार, राहत र पुनर्निर्माणमा ठूलो रकम खर्च गर्नुपर्दा सरकारले विद्यालय, अस्पताल, सामाजिक सुरक्षा तथा अन्य विकास आयोजनाको बजेट कटौती गर्नुपरेको बताए।
उनले भारत, चीन, बेलायत, अमेरिका, युरोपेली संघ तथा खाडी मुलुकबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै जलवायु क्षति तथा हानिनोक्सानी कोषबाट नेपालले पहिलोपटक करिब २ करोड अमेरिकी डलर अनुदान पाएको जानकारी दिए। तर, जोखिममा रहेका देशको आवश्यकताका तुलनामा उक्त रकम निकै न्यून रहेको उनको भनाइ थियो ।
























