काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीलाई हार र जित दुवै अवस्थामा जनताको आवाज सुन्ने तथा आशा र भरोसाको केन्द्र बन्ने राजनीतिक शक्तिका रूपमा विकास गर्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा शर्माले प्रस्तुत गरेको समसामयिक राजनीतिक विषयसम्बन्धी प्रस्ताव पारित भएको छ। प्रस्तावमा लोकतान्त्रिक संस्कृतिमा देखिएको क्षयलगायत समसामयिक राजनीतिक मुद्दा समेटिएका छन्।
प्रस्ताव पारित भएपछि शर्माले बन्दसत्रका छलफललाई खुला संसारले समेत सुन्न सक्ने गरी प्रस्तुत गर्नु ऐतिहासिक उपलब्धि भएको बताए।
उनले कांग्रेसलाई गुनासो र निराशामा सीमित नभई जनताले विश्वास गर्न सक्ने पार्टी बनाउनुपर्नेमा जोड दिए। “कांग्रेस सुन्न चाहन्छ, हार्दा र जित्दा पनि हाँस्छ,” भन्दै उनले पार्टीमा यस्तो राजनीतिक संस्कार विकास गर्न खोजिएको स्पष्ट पारे।
महाधिवेशनमा कुन नेताले कुन पद जित्छ भन्ने विषयमा मात्रै केन्द्रित नहुन प्रतिनिधिहरूलाई आग्रह गर्दै शर्माले पार्टीको मुख्य प्राथमिकता लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षण हुनुपर्ने बताए।
कांग्रेसभित्र लोकतान्त्रिक संस्कृतिलाई बलियो बनाउँदै जनताको कुरा सुन्ने, उनीहरूको विश्वास जित्ने र भरोसायोग्य राजनीतिक शक्ति बन्ने दिशामा अघि बढ्नुपर्ने उनको भनाइ थियो।































